म रहरिया कि सहरिया !


त्यो दिन म सदरमुकाम पुगेर फर्केको थिएँ । बिहान सबेरै बस चढेर मुकाम पुग्दा मैले छुट्टै संसार देखें । पहिलोचोटी मेरो गाउँको एउटा मात्रै पसल भन्दा ठूल ठुला सामानले भरिएका पसल, कंक्रिटका चार, पाँच तले घर, चिल्ला गाडी, चिल्ला बाटो देखें मैले, त्यहाँ ।

बाफ्रे !

आफैतिर आएर जोतिने हो कि जस्तो गरि सवारीहरु हुँइकिदा त आङ नै सिरिङ हुने । त्यो दिन मैले चाउमिन पनि खाएँ । मःम पनि खाएँ । राम्रा कपडामा सजिएका राम्रा मान्छेहरु पनि मैले पैलोचोटी त्यही सदरमुकाम देखेको थिएँ । 

सहरका हर राम्रा चिजहरु त्यो दिन मेरा आँखाले कैद गरि भित्र कतै स्टोर गरेको थियो । हो, त्यही दिन देखि त हो मैले गाउँ छोडेर सहरको सपना देख्न थालेको । त्यही दिन देखि त हो मैले मेरो बा’को दन्त्य कथा भन्दा पनि पर पनि अर्को संसार देख्न थालेको । 

...

‘पर्दैैन जान । यही बस्ने, घरकै आटो खाएर पढ्न पाइने क्याम्पस छोडेर किन जान परो,’ मैले सहर जाने ढिपी कस्न थालेपछि निराश आवाजमा बा’ले भनेका थिए । एस.एल.सि. सकाएर प्लस टु पढ्न सहर हानिने मेरो सपना एस.एल.सि.मै म्याथ विषयमा तारे चिन्ह सहितको मार्कसिटले ब्रेक लगाई दिएको थियो । त्यसपछिका मेरा हरेक मार्कसिटमा तारे चिन्ह छन् ।

प्लस टु सम्म त रोकिएँ । अब म रोकिने वाला थिइनँ । ‘बाले रोके रोकुन् । म त जसरी भए पनि जाने हो’ मनमनै पहिलै योजना बनाई सकेको थिएँ । घर भन्दा अलि मास्तिरका एक जना दाईले काठमाडौंमा काम गर्दै पढ्दै गरेको मैले उनी गाउँ आउजाउ गर्ने बेलामा नै चाल पाई सकेको थिएँ । यो कुरा बा’लाई पनि थाहा नपाएका होइनन् । तर, उनको छोरा अझैं सानै छ भन्ने भ्रम थियो बा’लाई । 

...

‘बुढा, आफूले त कैले गाउँ छोड्न सकेनन् । मलाई समेत यही सडाउने भए,’ बा सँग मनमनै खुब रिसाएको थिएँ, म त्यसबखत । 

बा’ले आफूले इन्डियामा पाएका दुखका कथा पनि सुनाए । आफ्नासँग टाढिनुको पीडादेखि बा’ले झेलेका अप्ठ्याराले मलाई छोएनन् । 

म त बस्, 

‘सहर जान्छु । जान्छु । सहर गएर केही गर्छु । केही बन्छु,’ भन्ने नै थियो । मैले अन्तिमसम्म पनि यही अडान कसि रहें । आमालाई पनि खुब फकाएँ । 

...

मेरो रहरको अघि बा’को केही जोर चलेन । अन्तिममा, उनी मलाई सहर पठाउन राजी भए । ‘यसको पनि पँखेटा पलाई सक्यो । अब यो मैले जति नै कोसिस गरेर रोक्न खोजे पनि उडी छाड्छ,’ बा’ले बुझि सकेको थिए । खोजखाज पारेर हातमा एक, एक हजारका तीनोटा नोट थमाई दिए । बा’ले मेरो बाटो खालि गरि दिए । 

अब म खुला आकाशमा उन्मुक्त उडान भर्न पाउने भएँ । 

...

बा’ले मेरो पखेटा खोलि दिने बेला देशमा ठूलै प्रलय आएको थियो । देशका विभिन्न ठाउँ भुकम्पले क्षतविक्षत बनेका थिए । काठमाडौं जाने भनेको काठमाडौैं त झनै ध्वस्त बनेको थियो । हाम्रै घरको गाह्रो पनि अलिकति चर्केको थियो । 

फनफनी हल्लाउदासम्म त ठिकै थियो । धरहरै ढलेपछि काठमाडौं छिर्ने आँट आएन । नजिकको सहर त बुटवल नै थियो । तालु नै खुइलिने गर्मी सहने आँट आउन । काठमाडौं छिर्न खुट्टा कामे । नौ नाडी गले । 

बा’ले कस्तो बेला पखेटा खोल्दिए !

सहर त जाने । तर, कहाँ जाने ? 

अर्को तनाव भो !

...

म भन्दा पहिले सहर झरेका केटाहरुलाई फोन घुमाएँ । फोनमा उपलब्ध सब्बैलाई जागिरको चाँजोपाँजो मिलाउन, भनें । केटाहरुलाई फोन घुमाउँदा घुमाउँदै दिनको सय रुपैयाँ चानचुन फोनकै रिचार्ज सकिन थाल्यो । यतिञ्जेलसम्म बाले दिएका तीनोटा हजारका नोट खल्तिमै सुक्षित थिए । 

आफै त जागिर नपाएर डिप्रेसनमा जान लागेका केटाहरुले मलाई निराश पार्न चाहेनन् । जागिर पाएपछि बोलाउने आश्वासन दिई रहे । प्रत्येक चोटीको फोनमा भुकम्पले सबै ठाउँ बन्द रहेको बताई रहें ।

यता बा’ले दिएका तीनोटा हजारका नोटले मलाई कैले हिड्छस् भनेर जिस्काई रहें ...

क्रमश ...


Post a Comment (0)
Previous Post Next Post