म रहरिया कि सहरिया !

(२)

भुकम्पले घरको गाह्रो मात्र चर्काएन । मेरो मन पनि चर्कायो । रेडियोले फलानो ठाउँमा भुकम्पले यति घर भत्कायो भन्न थालेको पनि महिना दिन बढी भई सकेको थियो । टेलिभिजनले पनि उस्तै विभत्स दृश्य देखाई रहेका थिए ।

धन्न !

हाम्रो गाउँमा त्यस्तो नराम्रो घटना केही घटेनन् । ठूलो नोक्सानी केही ब्यहोर्नु परेन । प्लस टु को एक्जाम सकिने बित्तिकै टाप कस्ने सुर कसेको म गाउँमा रोकिएँ । 

भुकम्पले मुखैमा आएको एक्जाम पनि एक महिना पर धकेलिएको थियो । महिना दिन परको एक्जाम पनि आयो । गयो । दिन बित्दै गए । 

तर, अह !

सहरमा जाँगिर पाइने कुनै छाँटकाँट देखिएन । बरु, मलाई सहरमा जागिर खोजिदिन्छु भनेर आश्वासन दिने दाई नै एक महिनाको लागि गाउँ फकिए !

...

चुक चुकाएर दिन बिताउनु बाहेक म सँग अरु कुनै विकल्प बाँकी रहेन । सहर गएर के के न गर्छु भन्ने सपना तुहिएरै सकिने भयो । बा’ले दिएका तीनोटा हजारका नोट पनि गोजि भित्रबाटै सकिए । कमसेकम, एक्जाम अघिसम्म त क्लास जान्थे । साथीभाई भेट्थे । समय बितेको पत्तै हुँदैनथ्यो । ति सबै सम्बन्ध एक्जाम पछि टुटि सकेका थिए । काँचको टुक्रा जस्तै गरि होइन । लाखापाखा नलागेका साथीहरु भेट्न मनै भए त भेटिन्थे । तर, मेरा लागि सम्बन्धहरु गौण थिए । मेरो लागि त मेरो रहर नै ठूलो थियो, त्यस बखत ।

...

अन्तिम, एउटा उपाय त थियो । पोखरा जाने । पोखरामा मेरो ठूलो दिदी हुनुहुन्छ । वर्षौदेखि उहाँको परिवार यतै बस्छ । दिदीलाई कन्भिन्स गरेर जान पाए, बिहान बेलुकाँ दुई छाक गर्जो त टथ्र्यो नै ! ओत लाग्ने छानो पनि खोज्ने टन्टो हुन्थेन । कामै नपाए पनि अलि दिन चल्थ्यो । बिस्तारै, त्यहाँको वातावरणसँग घुलमिल हुँदै गएपछि त आफैं पनि काम पाउन सकिन्थ्यो । यो मेरो नीजि विचार हो ।

उसो त एस.एल.सि.पछि महिनादिन पोखरामै बसेको थिएँ । पोखरामा मैले साइकल चलाउन सिके । मुश्किलले दुई, चार ठाउँ खुट्याउन पनि सक्ने भएको थिएँ, एक महिनाको बसाइमा । यत्रो लामो बसाइमा पनि साथी भने एउटा बनेका थिएनन् । यो मामलामा म अझैं पनि कमजोर छु ।

...

पोखरा बसाई अलि महंगो हुन्छ भनेर पनि यसअघि पोखरा छिर्ने योजना छेउछावै परेन । टाढा कतैबाट हेरि रह्यो । 

कामै गरेर कलेज पढ्ने । ज्यान पाल्ने मेरो उद्देश्य पूरा गर्न पोखरामा हम्मेहम्मे हुन्छ भन्ने पक्कापक्कि जस्तै थियो । यसैले पनि मैले रिक्स उठाउन खोजिनँ । सजिलो बाटो हुँदाहुँदै अक्केरामा हिड्न खोज्ने मुर्ख म किन बन्थे र !

दिदीलाई फोन लगाउन आइतबार पर्खन परेन । फोन लगाए । काम गर्दै पढ्न पनि मिल्ने खालको काम खोज्दिन भनें । दिदीले पनि बुझ्ने आश्वासन दिइन् । यति गरेपछि मन हलुका भो । 

‘काठमाडौं त त्यस्तै हो, कमसेकम पोखरामा टेक्ने हाँगो त छ,’ मनमनै भनें । 

क्रमश...

१.म रहरिया कि सहरिया !



Post a Comment (0)
Previous Post Next Post