म रहरिया कि सहरिया !

(३)

अन्तत : सहर गएरै छाड्ने भएँ ...

नेपालीमा एउटा भनाई छ नि, ‘खाने मुखलाई जुँगाले छेक्दैन ।’

यही नेपाली भनाई जस्तै भै दियो मेरो सहर जाने रहर पनि । पोखरामा काम भेटिएछ ! 

दिदीका छिमेकी एक जना इलेक्ट्रिसियनले हेल्पर खोजेका रहेछन् । काम पनि त्यस्तो भारी नहुने । केही पनि नपाउनु भन्दा यही काम पनि मेरो लागि ठूलो थियो । ‘काम जानेपछि पछि यही काम गरेरै पनि दुई छाक जोहो हुन्छ,’ यही सोचेर भित्रभित्रै फुर्किएँ । काम सकेर बेलुका कम्प्युटर क्लास जान पनि समय मिल्ने भयो । यति भएपछि अरु के चाहियो ? सहरमा पैताला मात्रै अड्याउने ठाउँ खोजि रहेको थिएँ । यो त मेरो लागि गोल्डेन अपर्चुनिटी नै थियो ।

अब मेरो अघिल्तिरका सहर जाने सबै ढोका खुले । 

 ...

सहर हिड्ने अघिल्लो दिन, ...

घर मास्तिरको दाइलाइ भनेर कपाल सफा चट पारे । अरु बेला नुहाउन भनेपछि साह्रै अल्छि लाग्थ्यो । फुर्ति साथ नुहाइ÷धुवाइ गरें । शरीरमा कत्ति पनि अल्छिपना थिएन । म यसै हावामा उँडी रहेको थिएँ ।

आमाले कोसेली तयार पार्न थाल्नु भयो । भट्मास, सिमी, बेसार, घ्युँ ... पोकापोकी थुप्रै भए । एउटा झोला त पोकापोकीले नै भरिए । दिदीहरु कैलेकाही आउँदा आमाले यसै गरि पोको पुन्तुरो कस्नु हुन्थ्यो । यो सब हेर्दा यस्तो लागि रहेथ्यो आमाले मलाई माइतीबाट आफ्नो घर पठाउँदै हुनुहुन्छ । 

अब गएपछि कहिले पो आइन्छ !

गाउँ छोड्दै छु भन्ने सम्झेर कताकता मन अमिलो भयो । 

‘एक राउन्ड गाउँ फन्को लगाएर आउनु प¥यो ।’

बा’आमालाई एकैछिन मास्तिर जान्छु भनेर निस्किएँ । 

...

बिहे गरेर गएकी चेलिलाई आफ्नो माईतीको कुकुरको पनि माया लाग्छ रे ! म पनि बिहे गरेर पराई घर गइको चेलि झै हुँदै थिएँ, गाउँको लागि । मलाई पनि गाउँको एक–एक चिजको माया लागेर आउन थाल्यो । 

सहर नजादा, सहर गए भने त यो गाउँमा फर्केर पनि आउन मन लाग्दैन होला जस्तो लाग्थ्यो । अहिले घर छोड्ने कुराले मात्रै पनि नमिठो गरि घोचि रहेको थियो ।

घर पल्तिरको बुढो चिउरीको बोट देखि घाँस काट्न जाने खरिया, बडिघाट खोला, थाप्लेभीर सबैले एकैचोटी नजाउ भने झै लाग्यो । मन भारी भएर आयो । 

गाउँ छोड्दै छु भन्ने सम्झिदा मात्रै पनि मन आत्तिई रहेको थियो । कहिलेकाही काम विशेषले दुई÷चार दिन घर छोडेर हिडे पनि यति लामो समयसम्म कैले छोडेको थिइनँ । हिजोसम्म सहर जान मात्रै पाए भने के–के न होला भन्ने लागेको थियो । अहिले घर छोेड्ने कुरा सम्झिदा मात्रै पनि खुट्टा काँप्न थाल्यो । घर आउँदा झिसमिस अँध्यारो हुन थालेको थियो ।

...

बा’ले खोरमा बास बसि सकेको भाले निकालेर काट्न थाल्नु भएको थियो । आमा भान्सामै हुनुहुन्थ्यो । 

‘किन काट्नु पथ्र्यो,’ मुखबाट फ्याट्ट फुत्कि हालेछ । 

‘अब कैले हो कैले, खाउला भनेर,’ कुखुराँ भुत्ल्याउदै बा’बोल्नु भो । म बोल्छु भन्दाभन्दै केही बोल्न सकिनँ,...

सरासर भान्सामा छिरेर आमाको नजिकै बसें । आमा केही बोल्नु भएन । एकोहोरो अँगेनामा मात्रै हेरि रहनु भयो । मलाई पनि बोल्ने केही  वाक्य नै फुटेनँ । एकै छिन पछि मैले चाल नपाउने गरि आमाले पछ्यौरीको सप्को आँखातिर लग्नु भयो, ....

क्रमश...
Post a Comment (0)
Previous Post Next Post