म रहरिया कि सहरिया !(अन्तिम भाग)



त्यो रात म राम्रोसँग निदाउन पनि सकिनँ । बिहानीपख आँखा लाग्न थालेका थिएँ । घरदेखि गाडी चढ्ने स्टेसनसम्म हिड्दै जानुपर्ने थियो । उठे । घर छोड्ने कुराले म यसै तर्सि रहेको थिएँ । त्यो दिन मैले बल्ल बुझे रहरको भारी बोक्न पनि कति गाह्रो छ भनेर ...

...

घरदेखि सहर आएँ । हुन त एस.एल.सि. दिएपछि पहिलै आई सकेको थिएँ, पोखरा । घर, गाडीको संख्या थपिए पनि माछापुछ«े फेरिएको थिएन । फेवातालमा उस्तै गरि टिलपिल बनेर बसेका थिए पानीका थोपाहरु ।

आएको पर्सिपल्टदेखि काम सुरु भयो । सामान्य स्क््रmु कस्ने, फ्युज फेर्ने काम त मैले गाउँमै जानेको थिएँ । पहिलो पल्ट बिजुली आउँदा घरको वेयरिङ गरेको हेरेरै मैले यो काम जानि सकेको थिएँ । यसर्थमा पनि काम सजिलै गर्न सक्छु भन्ने भ्रम म मा थियो ।

...

जागिरमा पहिलो दिन ...

जिन्दगीको पहिलो जागिर । त्यसमाथि पहिलो दिन । 

यसअघि बिहान आठ बजे अघि कहिल्यै निद्रा खुलेको मलाई याद थिएनँ । एस.एल.सि. दिनु अघि कोचिङ क्लास जान अहिले सबेरै उठिन्थ्यो । त्यस यता निद्रा खुलि हाले पनि ८ बजेसम्म सुति रहने बानी परेको थियो ।

बेलुकै काममा जानु छ भन्ने माइन्ड सेट अप गरेर सुतेको थिएँ । बिहान ५ नबज्दै निद्राले छोड्यो । दिदीको परिवार भने अझैं निद्रामै थियो । बिहान ९ः४५ मा खाना खाएर अमरसिंह चोकमा आउन भनेका थिए काममा । 

मलाई भने कैले जाउँ जस्तो भई रहेको थियो । 

अझैं ४ घण्टा ४५ मिनेट बाँकी !

यति धेरै बेचैन कैले भएको थिइनँ । 

...

९ बजेर ४५ मिनेटमा काममा पुग्नु पर्ने । ९ नबज्दै अमरसिंह चोक पुगें । फोनमा पार्कल्याण्ड हस्पिटल छेवैको इलेक्ट्रिक सपमा बस्न लगाएका थिए, ति दाइले । 

न कोही चिनेका छन्, न केही चिनेको छ । आँधि घण्टा जति त उनले बोलाएको ठाउँमा पुग्नै लाग्यो । बल्लतल्ल ठाउँ पत्ता लगाएँ । उनी अझैं आएका रहेनछन् । उनलाई पर्खनु पर्ने भो । बरु, चिया पिएर कुर्नु बेस लाग्यो । 

...

नाम त के थियो पो । अहिले बिर्सिएँ । सबैले ‘तिवारी दाई’ भन्थे । 

त्यसपछि दैनिकी नै बन्यो । त्यही इलेक्ट्रिक सपमा ९ः४५ मा पुग्ने । नआई पुगेको भए, कुर्ने । दुई, चार दिन त रमाइलै भयो । म स्क्रु कस्थे । अरु काम म जान्दिनथें । त्यो उनी आफैं गर्थे । 

काम सधैं एउटै घरमा हुन्थेन । कैले कता, कैले कता । सधै नयाँ नयाँ घरमा पुग्नु पर्ने । उता गाउँमा माटोको घर प्वाल पारे जस्तो सजिलो थिएन । स्क्रु कस्दाकस्दै पछिपछि कंक्रिटको भित्ता पनि फोर्नु पथ्यो । भ¥याङमा अडिएर भित्ता फोर्दा धुलो सोझै आँखामा पथ्र्यो । हात पनि एकदमै दुख्थ्यो । दिनभर कंक्रिटको भित्ता फोर्दाफोर्दा राती हात करकरी दुख्थ्यो । पछिपछि त थाकेर थिलथिलो भएको ज्यान लिएर क्लास जान पनि अल्छि लाग्न थाल्यो ।

...

मैले जस्तो सोचेको थिएँ । उस्तो थिएन सहर । 

गाउँमा हुँदा कैलेकाही खेतको काममा गएको सम्झिएँ । आमाले हात, खुट्टामा तेल लगाएर मिचि दिएको सम्झिएँ । तरक्क आँसु चुहिएर आउथ्यो । गाउँ फर्किन मन लाग्थ्यो । बा’आमालाई पहिले जस्तै गरि सताउन मन लाग्थ्यो । आफै रहर गरेर आएको, म । ‘आमा म घर फर्किन्छु,’ भन्न पनि सकिनँ ।

... 

एक दिन, दुई दिन, तीन दिन । हप्ता दिन गर्दै काम थालेको पनि महिना दिन पुगेछ । महिना सकिएको अन्तिम दिन ‘तिवारी दाई’ले ४५ सय रुपैयाँ हातमा थमाई दिएँ । 

४५ सय रुपैयाँ । याने कि ४ हजार ५ सय रुपैयाँ । मेरो जिन्दगीको पहिलो कमाई । पैसा हातमा लिएपछि पैसाको गन्धले यसै लटठ्याए जस्तो लाग्यो । खुसीले गद्गद् भएँ । 

फुरुङ हुँदै कोठामा फर्किएँ । 

आफ्नो लागि ५ सय राखेर बाँकी पैसा दिदीलाई राख्न दिएँ । पैसा समाएर दिदी पनि फिस्स हासिन् ।

घरमा आमालाई फोन गरेर सुनाए, ‘आज मैले तलब बुझें ।’

...

भोलिपल्ट, ...

काममा जान तयार हुँदै थिएँ । खाना खाँदै थिएँ । तिवारी दाईले फोन गरें । आज चाँडै जानु परेर गरेछन् क्यार ! फोन उठाएँ । काम विशेषले ४÷५ दिन बाहिर जान पर्ने भएछ । घरमै बस भने । ४, ५ दिन काम गर्न नपर्ने भो । राम्रै भयो । 

काममा नगई बस्न थालेको पनि ७ दिन भै सकेको थियो । काम विशेषले बाहिर गएका तिवारी दाई । फर्केर फोन गर्छु भन्थे । ७ दिन भै सक्दा पनि फोन गरेनन् । काम नसकिएरै गरेनन् होला जस्तो पनि लाग्यो । त्यो दिन फोन गरिनँ । उनको फोन कुरैरै बसें । 

त्यसको भोलिपल्ट पनि तिवारी दाईले फोन गर्लान् । अनि, काममा जाउला भनेर कुरेर बसें । बुढाको फोनै आएन । पर्सिपल्ट पनि फोन आएन । 

एघारौ दिनको दिन फोनै गरेर सोधें । 

बुढाले त अर्कै मान्छेलाई पो हेल्पर राखेछन् । मैले ए, मात्रै भनें । त्यसपछि फोन राखें ।

...

जुन बेला म सहर छिरेको थिएँ । सहर मेरो लागि रहर थियो । अहिले त सहर बाध्यता बनि सक्यो । धमिलो भाग्य रेखा पछ्याउँदै हिड्नु छ, अझै लामो बाटो । चाहेर पनि अब म सहर छोड्न सक्दिनँ । 

त्यसपछि कति ठाउँमा जागिर खाएँ । सम्झनाका तरेलिमा धमिला बनेर बसेका छन् । जिन्दगी बाँच्नकै लागि अनेक तिकडम अपनाइयो । अपनाउनुपर्ने छ । 

साँच्चै, भन्नुपर्दा सहरमा मन पटक्कै बसेको छैन । बस्दैन । 

महिनाभर जागिर गरेर थापेको तलबले दुई दिन पनि नगुज्रिदा यसो गम खाने गर्छु, ‘कस्तो रहर पलाएछ यार !’


Post a Comment (0)
Previous Post Next Post