बा’को चस्मा



गाउँमा बिजुली बत्ति आइ सकेको थिएन । टुकीको उज्यालोमा स्कुलको होमवर्क गर्नुपथ्र्यो । बा’को पालामा त झनै खोटो(सल्ला रुखबाट निस्किने लेस्याइलो पदार्थ)को बत्ति बालेर पढ्नुपथ्र्यो रे ! 

आमा स्कुल जान पाउनु भएन । स्कुल जान नपाए पनि जिन्दगीको पाठशालामा आएका हरेक दुख उहाँले पार गर्दै आई रहनु भएको छ । त्यो पाठ उहाँलाई कसैले पढाएका होइनन् । दुखलाई पनि दुखाउँदो त्यो पाठ आमा आफैंले पढ्नु भयो । 

बा’ले एस.एल.सि.सम्मको औपचारिक शिक्षा लिनु भयो । त्यसपछिको उच्च शिक्षा बा’ले लिन पाउनु भएन । विश्वविद्यालयको ढोकासम्म पुग्न नपाए पनि उहाँले पढ्न छोड्नु भएको छैन । उमेरले ७ दशक टेक्नै लाग्दा पनि हात लागेका किताब पढेर सिध्याउनु हुन्छ । थुप्रो विषयमा बा’ले अध्ययन गर्नु भएको छ । अर्थोक केही दिन नसके पनि दसैंमा घर जाँदा बा’को लागि किताब बोकेर जान्छु । 

...

म पनि बा’कै स्वभावको छु रे ! 

सबै जना यसै भन्छन् । हुन पनि बा’कै पदचाप पछ्याउँदै पढ्ने र लेख्ने कर्ममा गरि रहेको छु । बा’ले त्यो वातावरण सानैमा नबनाइ दिएको भए, म अर्कै कर्ममा हुन्थे होला ! सानो छँदा बा’ले पढ्ने किताबको गातोको रंगीन चित्रले पनि तानेर पनि किताब निकै बेर घोरिएर हेर्थे । भलै ति किताब मैले पढिनँ । 

...

बा’ले कैले देखि चस्मा लगाउन थाल्नु भयो । त्यो त मलाई याद छैन । तर, मलाई सम्झना भएसम्म स साना अक्षर पढ्नु प¥यो भने बा’लाई चस्मा चाहिन्थ्यो । चस्मा बिना बा अक्षर खुट्याउन सक्नु हुन्थेन । ठूलो फ्रेम भएको पावरदार चश्माको भरमा बा’ले धेरैको चिठ्ठी पढि दिनु भयो । धेरैको चिठ्ठी लेखिदिनु भयो । 

पढ्ने लेख्ने काम काम प¥यो कि बा’को नाम आइ हाल्थ्यो । अझैं पनि आउछ । माइनुट लेख्नु परे, कचहरी बसेर मिलापत्र गर्नु परे गाउँमा सबैले बा’लाई याद गर्छन् । बा’ पनि इस्टकोटको माथिल्लो खल्तिमा चस्मा र कलम हालेर जानु हुन्छ ।

...

बा’हरुका पाँच भाई मध्ये बा सबैभन्दा जेठो हुनुहुन्थ्यो । काकाहरु सबै इन्डिया थिए । बा मात्रै घरमा । गाउँकै स्कुलमा मास्टर हुनुहुन्थ्यो बा । हुन त जिन्दगीको एक दशक बढी त बा’ले पनि इन्डियामा बिताउनु भयो रे ! मलाई बा इन्डिया गएको याद छैन । 

खैर, मलाई सम्झना भएसम्म बा हाम्रो स्कुलको मास्टर हो । 

मास्टरको छोरो भै सकेपछि सबैको हेर्ने दृश्टिकोण त फरक हुन्छ नै ! थियो । म पनि अब्बल विद्यार्थीमै गनिन्थे । 

बिजुली थिएन । होमवर्क गर्न त प¥यो । 

धेरै वटा टुकी बा’ले मट्टितेल पनि धेरै खर्च हुने । एउटै बत्तिले काम चलाउन भान्सामै बसेर होमवर्क गर्थे, म । बा’पनि अँगेनाकै छेउमा बसेर के के पढ्नु हुन्थ्यो । दाइ, दिदी लाखापाखा लागि सकेका थिए । बा’आमा र म मात्रै थियौ घरमा । 

टुकी बालेर पढ्यो । कैले मट्टितेल सकिने । कैले हावाले निभाई दिने । स स्याना अक्षर नदेखिएर टुकीको नजिकै लगेर हेर्दा कैलेकाही टाउकोको रौ पनि जल्थ्यो । कैले पानीको भाँडा पोखिन्थ्यो । कैले तेलको सिसी । यस्तो बेलामा खुब रिस उठ्थ्यो । यसरी अनेक सास्ती खेप्नु पथ्र्यो । हरेक साँझ एक न एक थोक त बिग्रिन्थ्यो । भत्कन्थ्यो । बर्खामासमा अर्को समस्या आई लाग्थ्यो । त्यसबारे पछि लेख्ने छु ।

म ४ कक्षामा पढ्थे होला । तिथी मिती मैले बिर्सिएँ । फागुन या चैत महिनामा हो । हावा चल्ने महिना थियो । डाँडामाथिको घर । त्यसमाथि घरका सबै झ्याल ढोका बनि सकेका थिएनन् । झ्याल ढोका बनाउन बाँकी नै थियो । आमा खाना बनाउँदै हुनुहुन्थ्यो । बा र म पढ्दै थियौ । 

अलि अलि हावा त चलेको थियो । तर, त्यति साह्रो होइन । 

झमक्कै अँध्यारो भएपछि हावाको वेग पनि बढ्दै गयो । अँगेनामा आगो बल्न पनि दिएन । आमा रिसले हावालाई गाली गर्न थाल्नु भयो । गाली गरेर मात्रै भएन । आगो त जसे बाल्नु प¥यो । आमा गुन्द्रिले झ्याल छोप्नतिर लाग्नु भयो । बा अझै पनि किताबमै घोप्टि रहनु भएको थियो । मलाई भने हावाको वेगले घरको छानो हल्लाएको सुनेर निकै डर लागि रहेको थियो । 

...

आमाले गुन्द्रिले छोपेको केही बेर शान्त भयो । घरभित्र हावा छिर्न पाएन । अँगेनामा आँगो बल्न थाल्यो । बाहिरको वातावरणले बा’लाई अझसम्म छोएको थिएन । भान्सामा हावा नछिरेपछि आनन्द भयो । 

एक्कासि, 

हावाको झोक्काले आमाले लगाएको बार नै भत्काइ दियो । हावाको झोक्का सहन नसकेर गुन्द्रि पल्लो भित्तामा ढोक्किन पुग्यो । टुकी पनि निभ्यो । अँगेनाको आगो पनि यताउति छरियो । 

आमाले सराप्दै टुकी खोजेर बाल्नु भयो । अँगेनाको आगो सबै भुई भरि छरिएको थियो । तताई रहेको पानी पनि पोखिएर भुई भरि भयो । धन्न ! खाना भने पाकी सकेको थियो । 

एकै छिन सबै शान्त भई सकेपछि बा फेरि किताबमै घोप्टिन थाल्नु भयो । चस्मा लगाउन खोजेको अडिदै अडिएन । जति गर्दा पनि चस्मा ठिक ठाउँमा बस्दै बसेन । चस्मा झिकेर बा’ले के सोझ्याउन मात्रै खोज्नु भएको थियो । चस्माको खुट्टै भाँचियो !

अघि हावाको झोक्काले भुइँमा झारेर चस्माको खुट्टै बाँगिएको रहेछ । मिलाउन खोजेको चस्मै भाँचियो । बा केही बोल्न सक्नु भएन,... आमा खाना पस्कन थाल्नु भयो । 

खासमा त्यो दिन बा’को चस्मा भन्दा बढी मन भाँचिएको थियो । त्यो दिन बा’ले भातै नखाई सुत्नु भयो । चस्मा भाँचिएको महिनादिनसम्म बा खुब निराश हुन भयो । त्यही चस्मा आमालाई खानेकुरामा लाग्ने घुन हेर्न काम लाग्थ्यो । आमालाई पनि चस्माले बेसहार बनाएर गयो । बा’ले एउटा खुट्टामा धागोले बेरेर पनि काममा ल्याउने प्रयास गर्नु भयो । केही दिन यसै गरि पनि काम चल्यो । तर, धेरै दिन थेगेन । पछि बाले सदरमुकामै पुगेर चस्मा ल्याउनु भयो ।

...

आजकाल बा’को चस्मा कस्तो छ कुन्नि ? बेलाबेला फोनमा कुरा हुँदा बा’ले चस्माको कुरा गर्नुहुन्न । म पनि सोध्न बिर्सिन्छु । 

तर, अब बा’लाई चस्माको कमी हुने छैन । अरु नसके पनि बा’लाइ बलियो खालको चस्मा किनिदिने मन छ । 


1 Comments

Post a Comment
Previous Post Next Post