पोस्ट्कार्ड


‘ला,’ मेरो हातमा पोस्ट्कार्ड थमाएर ऊ खुरुरु क्लास तिर दगुरि । हाफ टाइम सकिने बेला हुनै लागेको थियो । किस्ने स्कुल आएको थिएन । त्यसैले हाफ टाइममा एक्लै थिएँ । अरु कसैसँग स्कुलमा मेरो खासै दोस्ती जम्दैनथ्यो । किस्ने र म भएपछि अरु कोही चाहिन्थेन । कहिलेकाही म स्कुल आइनँ भने किस्ने एक्लै हुन्थ्यो । एक जना स्कुल आउन नपाउदा सकभर दुवै जना आउन नपरोेस् जस्तो लाग्थ्यो । भोलिपल्ट स्कुल नआउने भए, अघिल्लो दिन नै दुवै जना नआउने भनेर छलफल गथ्र्यौ । तर, घरमा के बहाना बनाउने ? कुनै बहाना नपाएपछि रुझेको बिरालो जस्तै भएर स्कुल जान पथ्र्यो । 

अँ, साँच्चि 

म पोस्ट्कार्डको कुरा गर्दैैै थिएँ । 

त्यो दिन किस्ने स्कुल नआएको मौका छोपेर उसले मलाई पोस्ट्कार्ड दिई । हरेक वर्ष दसैं बिदा हुनु अघि यसरी पोस्ट्कार्ड दिने चलन थियो स्कुलमा । प्राय केटा केटा, केटी केटी बिचमा नै पोस्ट्कार्ड आदानप्रदान हुन्थ्यो । केटाकेटी बिच कमै सेयर हुन्थ्यो । प्राय केटाहरुले केटीको पोस्ट्कार्ड पाए पनि मैले अझैसम्म पोस्टकार्ड पाएको थिइनँ । 

ऊ हातमा पोस्ट्कार्ड थमाएर गई । यता मेरो मुटुको गति ह्वात्तै बढ्यो । कसैले देख्न त देखेन भनेर निकै आत्तिएँ । लोसे भएर बसि रहेको थिएँ । एक्कासी हावा भरिएको बेलुन जस्तै टाइट भएँ । हतार हतार पोस्ट्कार्ड सर्टभित्र लुकाएँ । 

कस्तो कस्तो भएर आयो । पोस्ट्कार्ड हेर्न मन लागि रहेको थियो । कसैले देख्ला किन भनेर हेर्न सकिनँँ । झोलामा लगेर लुकाउनु प¥यो भनेर क्लासभित्र छिरे । ऊ म भन्दा पहिले नै पुगि सकेको थिई । मलाई देखेर फिस्स हाँसी । म पनि हाँसे । बेन्चमा पुगेर हतार हतार म्याथ विषयको किताबको पाना भित्र पोस्ट्कार्ड लुकाएँ । 

...

पोस्ट्कार्डमा के लेखेकी होलि ? 

कति बेला छुट्टी हुन्छ र घर पुगेर हेरौला जस्तो भई रहेको थियो । अझै तीन पिरियड त पढ्नै बाँकी थियो । हाफ टाइम सकिएको घण्टी लाग्न अझैं पाँच मिनेट जति बाँकी थियो । क्लास बंक गरेर घरतिर कुदौ जस्तो पनि लाग्यो । फेरि, पहिलो चोटी पोस्ट्कार्ड हात लागेको छ । के सोच्लि भनेर पनि पैताला अघि बढेनन् । 

४ नबज्दासम्म हुट्हुटिई रहें । 

...

४ बजेको घण्टी लाग्ने बित्तिकै सबैलाई उछिनेर म घरतिर कुँदे । बाटोमा पछि फर्केर कसैलाई हेरिनँ । कति बेला घर पुगेर पोस्टकार्ड हेरौला जो भई रहेको थियो । 

स्कुलदेखि घरसम्म पुग्न १ घण्टा लाग्थ्यो । १ घण्टाको बाटो १४ मिनेट मै काटे छु । ४ बजेर १५ मिनेट हुँदा घरमै पुगेछु । घरमा दिदी मात्रै हुनुहुँदो रैछ । स्कुलबाट चाँडै आएको देखेर दिदीले भागेर आए जस्तो लागेछ । मैले पूरा क्लास पढेर आएको हो भने । 

कोठामा गएर हतार हतार पोस्ट्कार्ड निकाले । अगाडी फूलको चित्र थियो । पछिल्तिर राम्रा अक्षरमा दसैंको शुभकामना लेखिएको थियो । मैले पाँच चोटीसम्म दोहो¥याएर पोस्ट्र्ड पढें । म यसै हावामा उडें झै भई रहेको थिएँ । जतनसाथ पोस्टकार्डलाई किताबको पाना बिचमा लुकाएँ । 

...

उसले त पोस्टकार्ड दिई । अब दिने पालो मेरो थियो । 

भोलिपल्ट घरमा आमासँग पैसा मागें । अरु दिन भन्दा अलि पहिलै स्कुल निस्किएँ । त्यो दिन पनि बाटोमा कसैले कुरिनँ । एक्लै एक घण्टा लामो बाटो नापें । 

स्टेशनरीमा पुगेर पोस्ट्कार्ड किनें । पोस्ट्कार्ड किनेर क्लासतिरै लागें । क्लासमा पुगेर मैले पनि शुभकामना लेखेर उसलाई दिनु थियो । मैले पनि सक्दो राम्रा अक्षर बनाएर पोस्ट्कार्डको पछाडीपट्टी शुभकामना लेखें । लेखिसकेपछि दोहो¥याएर पढें । यत्तिको लेखेपछि त पक्कै उसलाई राम्रो लाग्ला भन्ने लागि रहेको थियो । 

पोस्ट्कार्ड खल्तिमा हालेर ढोकानेर उसलाई कुरेर बसें । आउने बित्तिकै उसलाई जसरी भए पनि दिन्छु भनेर सोचि रहेको थिएँ । 

...

कुर्दा कुर्दा १० बजेको घण्टी बज्ने बेला हुन लागि सक्यो । तर, ऊ आइनँ । १० बज्न जम्मा १० मिनेट बाँकी थियो । क्लासक लगभग सबै जसो आई सकेका थिए । हिजो बिदामा बसेको किस्ने पनि आज आएको थियो । अरुबेला किस्ने भनेपछि हुरुक्कै हुने, म । किनकिन आँखा उसैलाई मात्र खोजि रहेका थिएँ । 

किस्नले हात मिलाएर ब्याग राख्न गयो । अरु बेला भएको भए ऊ सँगै भित्र छिर्थे । यता मलाई पोस्ट्कार्ड दिनु थियो । म बाहिरै बसें । 

..

घण्टी बज्यो । सबै जना लाइन लाग्न ग्राउन्ड तिर लाग्यौ । तर, ऊ आइन । मन खिन्न भयो । स्कुलमा फिटिक्कै मन बसेन । निन्याउरो अनुहार लगाएर लाइन लाग्न गयौं । 

किस्नेले के के भनि रहेको थियो । उसका कुरामा कत्ति पनि वास्ता भएन । मैले हो मा हो मात्रै मिलाई रहें । आँखाले अझैं पनि उसकै बाटो हेरि रहेका थिए । 

..

एसेम्लि सकेर सबै जना क्लासभित्र छिरि सकेका थिए । क्लासभित्र बसे पनि मन भने बाहिर थियो । गेटतिर हेरि रहेको थिएँ । कतै आई पो हाल्छे कि जस्तो लागि रहेको थियो ।

पहिलो घण्टीको क्लास सुरु भयो । हाजिरी सकियो । सरले पढाउन सुरु गरें । तैं पनि ऊ आई हाल्छे कि जस्तो लागि रहेको थियो । सरले पढाउँदा पढाउँदै बिचमा आउछे कि जस्तो लागि रहेको थियो । किनभने आउँदा आउँदै ढिला भै हाल्यो भने कोही बेला अलि ढिला गरेर पनि स्कुल आउने गर्थे साथीहरु । 

...

त्यो दिन पोस्ट्कार्ड दिन पाइनँ । छट्पटीमै बित्यो । आज नभए के र भोलिपल्ट दिन पाइहाल्छ नि भनेर आफैंलाइ सम्झाएँ । 

भोलिपल्ट पनि अलि चाँडै स्कुल गएर उसलाई पोस्ट्कार्ड दिउला भनेर सोचि रहेको थिएँ । कोठामा एक्लै पोस्ट्कार्ड हेरेर रमाएँ । उसलाई दिन भनेर रातो गुलाबको फोटो भएको पोस्टकार्ड किनेको थिएँ । दुई वटै पोस्ट्कार्डलाई सँगै राखेर दाँजे । पोस्ट्कार्डको ठाउँमा ऊ र मलाई मात्रै राखेर दाँजे । 

धत्, यस्तो त कसरी हुन्छ । 

मलाई सपना देखे जस्तो लाग्यो । म अब एक्लै रमाउन थाल्ने भएको थिएँ । 

...

भोलिपल्ट पनि ऊ आइनँ । किताबको बिचमा पोस्ट्कार्ड यत्तिकै रह्यो । कतिबेला आउछे र दिउँला भनेको ऊ आइनँ । त्यो दिन पनि रित्तै हात फर्किएँ । 

भोलि भोलि भन्दा भन्दै ऊ लगातार ५ दिन एप्सेन्ट भई सकेकी थिई । म यता छटपटीई रहेको थियो । 

पाँचौ दिनमा ऊ आई । परैबाट उसलाई देख्ने बित्तिकै मलाई करेन्ट लागे जस्तो भयो । दुगुर्दै क्लासमा गएर पोस्ट्कार्ड झिकेर उसलाई दिउँ जस्तो लागि रहेको थियो । एक्लै भएको भए त दिन्थे होला किस्ने पनि सँगै थियो । मैले आँट गर्न सकिनँ । पछि एक्लै भएको बेलामा सुटुक्क दिउँला भन्ने लाग्यो । 

...

त्यो दिन उसलाई पोस्ट्कार्ड दिन सकिनँ । दिन सकिनँ भन्दा पनि त्यस्तो मौका नै जुरेन । ऊ हामी बसेको भन्दा पल्लो साइडको अलि अघिल्लो बेन्चमा थिई । बेलाबेला मुन्टो घुमाउथी । दुवैका आँखा जुँध्थे । उसले नजर झुकाउथी । त्यसपछि ब्ल्याकबोर्डतिरै हेर्थी । 

क्लासमा हुन्जेल त आँखा जुँधाएर मन शान्त हुन्थ्यो । घरमा आएपछि कहिले स्कुल जाउँ जस्तो हुन्थ्यो । पढाईमा फिटिक्कै मन बसेको थिएन । पोस्ट्कार्ड बोकेर हिँडेको पनि दई हप्तै हुन लागेको थियो । तर, उसलाई दिन सकिनँ । 

कैले के कैले के मौकै मिली रहेको थिइनँ । किस्नेलाई ट्वाइलेटमा एक्लै छोडेर त्यही मौकामा दिन्छु भनेर पनि आँटे । त्यतिबेला ऊ साथीहरुसँग भै दिन्थी । अझ सरले भेटाए त राम्रै चुटाई भेटिन्थ्यो । डरै डरमा म्याथ किताबको पन्ना बिचमै त्यो पोस्टकार्ड बसि रह्यो ।

...

जम्काभेट हुँदा पनि उसलाई पोस्ट्कार्ड दिन सकिनँ । न ऊ बोल्न सक्थी । न म नै । दुवै जना हेराहेर मै सिमित रह्यौं । बोले स्कुलभरि हल्ला चल्ला भन्ने डर । नभनौं त मनमनै भुट्भुटिएर कतिञ्जेल बस्नु !


...

१० वर्ष अघि यस्तो डायरी लेखिएको रैछ,....


Post a Comment (0)
Previous Post Next Post