केही कुरा



कुनै पनि काम सुरु गर्नु अघि मलाई यस्तो लाग्छ, ‘यो काम त म भन्दा जानकार मान्छेलाई सोधेको भए राम्रो हुन्छ होला !’ सोध्छु पनि । केही काम थाल्नु अघि अरुले के भन्ने हुन् जस्तो पनि लाग्छ । सफल हुन्छु या हुन्न ? धेरै ठाउँमा धरमराएको पनि छु । योजनाबद्ध रुपमा अघि बढाएका ति काम कति पूरा भए, कति बाँकी छन् । तिनका खातापाता अहिलेलाई नपल्टाऔं । पछि पल्टाउला ।


खैर, जिन्दगीले अनपेक्षित अबडखाबड पार गर्दै आएको छ । कति गर्न बाँकी नै होलान् । चर्चा, परिचर्चा हुँदै जाने छन् । त्यसैको लागि मैले ब्लगिङ सुरु गरेको छु ।


यो गर्नु ठिक या बेठिक ,...


यस्तै यस्तै उल्झनमा जिन्दगी अल्झि रहेको छ । अल्झि रहन्छ । मलाई थाहा छ ।


सुरु गरौं या नगरौं !


यस्तै द्वीविधाको बिचमा फेरि, अर्को नयाँ कामको सुरुआत गरेको छु । तपाईहरुमाँझ पुन सक्रिय रुपमा प्रस्तुत हुने जमर्कोसहित नियमति ब्लगिङ गर्ने सोच बनाएँ । त्यसै अनुसार यो अकाउन्ट पनि क्रियट गरें । र, म यो पहिलो ब्लग लेख्दै छु ।


जीवनमा कहिले पनि सोचेको थिइनँ । पुर्खाहरु (मेरो परिवारमा) कसैले गर्दै नगरेको काम मैले गरुँला । सूचनाको बाहक बनेर पाठकहरुमाँझ पुँगुला, यो मैले कैले सोचिनँ । कहिलेकाहीं सोचि ल्याउदा पनि अनौठो लाग्छ । हुन पनि यो सब मेरो लागि अनपेक्षित नै थियो । कमसेकम मास्टर्स डिग्री सकाएँ भने नीजि नै सही कुनै एउटा स्कुलमा मास्टरी गर्न पाइएला । त्यो पनि नपाए जिन्दगीको हिसाबका खाता सही ढंगले मिलाउन त सकुँला भन्ने नै थियो मैले सोचेको अंकगणीत ।

हो, यत्ति नै थियो मेरो जीवनको उद्देश्य । यहीं नै हो मेरो लक्ष ।
एउटा गीत छ नि, ‘सोचेझैं जिन्दगी रैनछ’ । गीत खुबै हिट पनि भयो क्यार !
के सोचेको थिएँ । भै दियो के !
त्यसपछि, पनि कैयौं उद्देश्यहरु बनें । ति तमाम सपनाहरु कम्प्युटरका किबोर्डमा अहिले थिचिईं रहेका छन् । नियमित समाचार तयार पार्दा पार्दै ति सपनाहरु पनि बिर्सि गएँ ।
एका बिहानै झ्वाट्टै !
ब्लग चलाउने तरिका त साथी विकासले पहिलै सिकाई सकेको थियो । ‘नियमित ब्लग लेख्नुपर्छ है !’ भन्थ्यो । कुन्नि कता छ आजकाल । पोखरा नगरिबाट त्यो मान्छे हराई गयो । बेलाबेला आकाशवाणीमा कुरा त हुन्छ । त्यहीं पनि झोकाझोंकमै टुंगिई हाल्छ । त्यो नमुना पात्र मेरो जीवनमा यसरी जोडिएको छ कि, त्यसको बारेमा म पछि कुनै दिन लेख्ने छु ।
किन्तु, परन्तु केही नभनि खै कताबाट हो ! विचार आयो अब नियमित ब्लगिङ लेख्न सुरु गर्नुपर्छ । यसरी सधैं आफैंले आफैंलाई बेवास्ता गरेर त हुँदैन । कही न कही त आफूलाई समेट्नु नै छ ।

‘हेर, बड्डा कुण्ठा चाहीं पोख्नु पर्छ,’ बेलाबेला ऊ भनि रहन्थ्यो । हुन् पनि साह्रै भडास पोख्थ्यो त्यो मान्छे । जहाँ पनि, जो सँग पनि ह्वात्तै आवेशमा आइ हाल्ने । बहसमा उत्रि हाल्ने । म भने मनभरि असन्तुष्टि पाले पनि कसैसँग यसरी झोकाझोंक गर्न सकिनँ । सके त त्यही नमुना पात्रसँग । मेरो स्वभावसँग कोही पात्र परिचित छ भने त्यो मेरि श्रीमती र ऊ नै हो । बा’आमाले त जान्ने नै भए । यो स्वार्थी नगरिमा छिरि सकेपछि त बिर्सी सके कि कुन्नि ?

जे सुकै होस्, मेरो जीवनको ऊ एकमात्र पात्र हो जो सँग कुनै कालखण्डमा मेरा धेरै जसा यादहरु जोडिएका छन् । त्यो बारेमा बहस, चर्चा, परिचर्चा गर्दै जाऔंला है !

र, मैले ब्लगिङ सुरु गर्नुको उद्देश्य के हो भन्देखिन्, क्युट्स मार्फत म सँग जोडिन् भएका साथीहरु सँग पनि सम्बन्ध पुन ताजा हुने छ । जागिरे जीवनमा प्रवेश गरि सकेपछि त तपाईंहरुसँग मेरो सम्बन्ध डेथ जस्तै भई सकेको छ । यसलाई फेरि, ब्युँताउनु त छ नै ! अर्को, हाम्रो सम्बन्धको परिधि पनि थप फैलिदै जाने छ । नयाँ नयाँ सम्बन्धहरु जोडिदै जाने छ । चिनिदैं जाने छ । र, अर्को कुरा हाम्रो यो समय पनि डकुमेन्टेसन भएर रहने छ ।

आजको समय भोलि उस्तै रहन्न हामीलाई थाहा छ । यसले यो समयलाई पनि कैद गरेर राख्ने छ । अरु उद्देश्यहरु अहिले मैले सम्झन सकिनँ । ति पनि विस्तारै सम्झिदै जाऔंला ।
ऊ बेला जस्तै कथा लेखन गर्ने जमर्को पनि पक्कै हुने नै छ ।

ए, अँ
भर्खरै नयाँ पुस्तकको पाण्डुलिपी पनि तयार भई सकेको कुरा त मैले यहाँहरुलाई जानकारी गराई सकें नि हैन र ! अहिले सम्पादनको काम धमाधम भई रहेको छ । त्यसको बारेमा पनि चर्चा परिचर्चा गरौंला ।
अहिलेलाई यति भन्दै मेरो दुई शब्द यहीं टुँग्याउछु । बाँकी सुझाव सल्लाह प्रतिक्रिया दिंदै गर्नु होला ...

धन्यवाद !

पोखरा १४ चाउथे ...



Post a Comment (0)
Previous Post Next Post