त्रासद २ रात





मानव जातीलाई नै एउटा नामै नसुनेको भाइरसले कसरी त्राही त्राही पारेको छ । यो त तपाईहरुलाइ थाहै छ । 

कति साथीहरु यो भाइरससँग जुँध्दै हुनुहुन्छ होला ! कतिले जिती सक्नु भयो । संक्रमण नभए पनि यसका साइड इफेक्टसँग जुध्नु त छ नै । 

ल, सुन्नुस है ! 

म पनि दुई रात मज्जैसँग जुधे नि । भाइरससँग होइन । यसको साइड इफेक्टसँग । 

भयो के भने, मेरा नजिकका एक जना भाइलाई थाहै नपाइ कोरोना भाइरसको संक्रमण पुष्टि भयो । कहाँ बाट भयो भयो । कसरी भयो । केही थाहा नदिई कोरोना भाइरस शरीर भित्र छिरि हाल्यो ।

लौ, प¥यो फसाद !

यहाँसम्म त ठिकै थियो । ज्यान ठिकठाकै थियो । रुँघाखोकी, ज्वरो, शरीर दुख्ने कुनै सिम्टोम्स नै देखिएन । आखिर सबै जना संक्रमणको चपेटामा परि रहेको बेलामा म मात्रै अछुत रहने त कुरै आएन । त्यसमाथि काम यस्तै छ कि मान्छे नभेटी, बातचित नगरि धरै छैन । हुन पनि मान्छेहरु सँग गफगाफ नगरि समाचारको स्रोत कहाँबाट पत्तो लगाउने ? समाचारको स्रोत नै नपाइ समाचार कसरी लेख्ने ? जे आउछ । त्यसलाई फेस गरौला भन्ने नै थियो । 

अँ, हामी के कुरा गर्दै थियौ । 

एक जना खबरकर्मी भाइलाइ कोरोना संक्रमण पुष्टि भयो । दसैं सकिएको दुइ, चार दिन लगत्तै उसलाई कोरोना संक्रमण पुष्टि भएको थियो । भाइलाई फोनबाटै सान्त्वना दिई रहेको थिएँ । बेलाबेलामा ऊ सँग भिडियो कल, फोनकल भई रहेकै थियो । यतिञ्जेलसम्म पनि सबथोक ठिकठाकै थियो । 

‘दाई, मलाई त पेट दुखे जस्तो भयो । शरीर पनि दुखि राछ । मलाई पनि कोरोना लायो क्या हो !’ संक्रमित भाइको सम्पर्कमा आएको दोस्रो भाइले सुनायो । सुरुमा त त्यति वास्ता भएन । तिमीलाई पनि कोरोना संक्रमण भयो भन्दै उसलाई खिस्याएँ पनि । यतिञ्जेलसम्म पनि सबथोक ठिकठाकै थियो है !

केटोको दुखाइ कम भएन । पीसीआर गराउन जान्छु भन्थ्यो । जाउ भने । दियो । भाइले आत्तिएर लाग्यो भन्ने ठाने होला भन्ने नै थियो । 

भोलिपल्ट,

म अफिसमै थिएँ । अनमोल र सुहानाको फिल्म ‘ए, मेरो हजुर’ युट्युबमा प्रिमियर हुँदै थियो । समाचार लेखेर सकाइ सकेको थिएँ । ‘हलमा नगए पनि युट्युबमै फिल्म हेर्नु प¥यो,’ आफैसँग कुरा गरें । 

फेसबुकमा छिटपुट साथीहरुसँग कुरा पनि भई रहेको थियो । ज्यादा ध्यान त फिल्म हेर्नमै थियो । 

‘दाइ, मेरो रिपोर्ट त पोजेटिभ आयो यार,’ सुरुमा त खङ्ग्रङै भएँ । भाइले जिस्क्याए होला जस्तो पनि लाग्यो । उसलाई पनि यसै भने । साँच्चिकै कोरोना पोजेटिभ आएको रहेछ । ४ दिनअघि मात्रै भाई सँग खाजा खाएको थिएँ । चाबी घरमै बिर्सेछु दाई । ताल्चा फुटाउन हेल्प गर्नु न भन्थ्यो । नाइँ भन्ने कुरा पनि आएन । उसको पछि लाएर कोठासम्म चाबी फुटाउन पनि गएको थिएँ । यति लामो समयसम्म सम्पर्कमा रहेपछि त कन्फर्म मलाई पनि कोरोना पुष्टि भयो भन्ने लाग्यो । उसलाई चिन्ता नगर भन्ने होस् पनि आएनछ । भनिनँ पनि ।

भाइले रिपोर्ट त सुनायो । यता ज्यान एक्कासी शिथिल भएर आयो । भित्रभित्रै कता हो कता दुखे जस्तो अनुभूति भएर आयो । ‘मलाई पनि स्योर कोरोना लायो,’ मनमनै भनें । 

हेर्दै गरेको फिल्म हेर्न पनि मन लागेन । एकै छिनमा होस् हवास् सबथोक गायब भै गयो । 

त्यसपछि के भयो ? केही थाहै पाइनँ । मनमनै एउटै कुरा दोहोरिइ रह्यो, ‘मलाई कोरोना लायो !’ आफूलाई संक्रमण भएर त केही थिएन । अर्को कुनै दिर्घ रोग नभएकाले जितिन्छ भन्ने पक्कपक्की जस्तै थियो । रह्यो चिन्ता, परिवारको । संक्रमित भाइसँग भेट भएपछि परिवारसँग पनि घुलमिल भई सकेको हुनाले मलाई संक्रमण भएको भए परिवारमा पनि संक्रमण फैलिई सक्यो ! 

दिमागले कामै गर्न छोडी सकेको थियो । मष्तिष्कमा केही थियो त ‘कोरोना पोजेटिभ’ भन्ने नै थियो । 

सुन्नुस् है !

अर्थोक चिन्ता केही पनि होइन । बस्, मेरो कारण परिवारमा पनि संक्रमण फैलियो भन्ने चिन्ताले निकै गाल्यो । घरमा आई सकेपछि पनि अरुबाट टाढै रहने कोसिस गरें । यस्तो भयो भनौं भने उल्टै सबैलाई तनाब किन थपिदिने भन्ने जस्तो पनि लाग्यो । त्यो साँझ कसैलाई केही भनिनँ । होइन, जस्तो पनि नलागेको होइन । बिर्सन खोज्दा खोज्दै पनि कताकताबाट उही कुरा दिमागमा ठोक्किन आई रहेको थियो । मलाई कोरोना लाग्यो !

भोलिपल्ट, 

म सतर्क थिएँ । यदी, मलाई संक्रमण भएको रैछ भने अरुलाई नसरोस् भन्नेमा खुबै सतर्क थिएँ । कसैसँग टच पनि भइनँ । दुई चार दिन अफिस नजाने सोच बनाएको थिएँ । त्यतिञ्जेलसम्म पनि गाह्रो भयो भने स्वाब दिन जाउला भन्ने थियो । 

मनै न हो ! 

कहाँ मान्थ्यो । नेपालीमा एउटा उखान छ नि, घुमिफिरी रुम्जाटार । यानेकी, सबै ठाउँ घुमी सकेर फेरि उही ठाउँमा आउनुपर्छ भने जस्तै ः मेरो दिमागमा पनि उही एउटै कुरा खेली रहेको थियो । 

यसरी त हुँदैन भन्ने लाग्यो, घरमा साथीकोमा बस्न जान्छु भनेर एकदुई जोर कपडा कोचेर निस्किएँ । दुई, चार दिन उतैतिर बस्छु भनेर आएको थिएँ । घरमा कुरा मिली सकेपछि केही हदसम्म ढुक्क भएँ । कमसेकम यति गरि सकेपछि कोरोना नसर्ला भन्ने नै थियो । 

अफिसको सोफामा निद्रा पर्ने त कुरै आएन । कोरोना टेष्टको लागि कुरा भई सकेको थियो । ‘कहिले उज्यालो होला र स्वाब दिन जाउला,’ रातभर यही सोचेरै बिताएँ । बिहानीपख आँखा लागेछ । 

उठेर सिधैं स्वाब दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालमा गएँ । स्वाब दिएँ । स्वाब दिई सकेपछि पनि मन थिरमा थिएन । सकभर रिपोर्ट नेगेटिभ नै आओस् भन्नै नै कामना गरि रहेको थिएँ । दोस्रो, पोजेटिभ नै आए पनि परिवारलाई केही नहोस् भन्ने थियो । 

जीवनमा यति धेरै तातोपानी कहिले पनि पिएको थिइनँ होला । भोक, प्यास सबथोक बिर्सि गएँ । र, पनि तातोपानी पिउन भने बिर्सेको थिइनँ । पिई रहें,... पिई मात्र रहें ...

दाई, अमृत सुवेदीले यस्तै बेलामा दिमागलाई प्रेसर दिने काम गर्नु हुन्न भन्नु भएको थियो । युट्युबमा कमेडी भिडियो हेर्दै थिएँ । हिन्दी मुभीका हिट कमेडी स्केन युट्युबमा हेर्दै थिएँ । साथी सुरेशले फोन गरें । रातको ९ बजेर ५२ मिनेट गएको थियो । 

मुटुमा ढ्याङ्ग्रो बज्न थाल्यो । फोनको रिङभन्दा बढी मुटुको धड्कन बढी रहेको थियो । काँप्दै फोन उठाएँ । रिपोर्ट पोजेटिभ आएछ भन्छन् भन्नेमा ढुक्क थिएँ । भै दियो उल्टो । रिपोर्ट नेगेटिभ आएछ । सुरुमा त पत्याउनै गाह्रो परि रहेको थियो । उनले दोहो¥याएर, साँच्चिकै नेगेटिभ आएको  सुनाई सकेपछि भने अलि विश्वास लाग्यो । 

...

दुई दिन । दुई रातसम्म मैले जुन त्रासद रात बिताएँ । यो महामारिको बेलामा तपाई हामी सबैले भोग्नु परेको त छ नै ! यो घटनाले मलाई थप जिम्मेवार भएर महामारि फेस गर्न सिकाएको छ । 

अलिकति सजग भए कोरोना भाइरसलाई परास्त गर्न त सकिन्छ नै ! सुरुआत तपाई हामीबाटै गरौं । सजगता अपनाऔं । 


Post a Comment (0)
Previous Post Next Post