घाम डुब्ने बेलामा ...



डुब्ने बेलाको घाम मलाई खुबै मन पर्छ । त्यही घामलाई हेरेर बेलाकुबेला नोस्टाल्जिक पनि हुने गर्छु । यो बेला बा’आमा, गाउँघर स्मृतिका पन्नाहरुबाट फुत्त फुत्त बाहिर आउने गर्छन् । 

हुन पनि दिनभर सबै जना आ–आफ्नो काममा व्यस्त भए पनि घाम डुब्ने बेलामा जम्मा हुन्थ्यौ । दाइ, दिदी लाखापाखा लागि सकेका थिए । घरमा हामी तीन जना मात्रै थियौ ।

बा गाई, बाख्रा स्याहार्न थाल्नुहुन्थ्यो । आमा दुध दुहुन । म आगो सल्काएर खाना बनाउने तरखरमा हुन्थे । तिनताका रेडियो खुबै सुनिन्थ्यो । दैलोमा झुण्ड्याई राखेको रेडियोमा बेलुकी पखको समाचार सुरु हुन अघि नै बा’ले आफ्नो भागको काम सकाई सक्नु हुन्थ्यो । 

घरमा टिभी आइ सकेको थिएन । भर्खर भर्खर ल्यान्ड लाइन आई पुगेको थियो, गाउँमा । 

दाई, दिदी घरमै हुँदा समाचारमा खासै चासो नराखे पनि पछिल्लो समय आमाले पनि साचारमा चासो राख्ने हुन भएको थियो । भनौं न समाचार सुन्न थाल्नु भएको थियो । बेलुका ७ बजेपछिको समाचार तीनै जनाले कान टाठो पारेर सुन्ने गथ्यौं । भर्खरै जनआन्दोलन सकिएपछिको समय थियो नि त त्यो । के हुने हो ? कसो हुने हो ? डर बाँकी नै थियो ।

...

‘तेरो आमा पनि खुब समाचार सुन्ने भाछ,’ अँगेनामा दाउरा थप्दै गरेकी आमालाई हेर्दै बा’भन्नुहुन्थ्यो । आमा केही नसुने झैं चुपचाप आफ्नो काम गरि रहनुहुन्थ्यो । 

आमा नबोले पनि उहाँका आँखाले सबै कुरा बोली रहेको हुन्थे । त्यो बेला नबुझे पनि अहिले महसुस गर्छु । हप्तादिनमा ल्यान्डलाइनबाट टेलिफोन वार्ता त हुन्थ्यो । र, पनि हामी समाचार सुन्न कम गरेका थिएनौं । 

गाउँमा ल्यान्डलाइन आई सकेपछि हामी केही खुल्न थालेका थियौं । आकाशवाणीमा कुरा गर्न पाएपछि आमा पनि केही दिनसम्म त ढुक्क हुनुहुन्थ्यो । बा’आमा खुसी भई सकेपछि म नहुने त कुरै आएन । 

आमाले अक्षर चिन्न पाउनु भएन । बा गाउँकै स्कुलको मास्टर । म भने पाँच कक्षा सम्मको औपचारिक शिक्षा पूरा गरेर ६ कक्षा पढ्न गाउँभन्दा १ घण्टा टाढा पैदल हिँडेर जानु पथ्र्यो । मैले अघि पनि भनि सके तीन जनाको परिवार जम्मा हुने समय नै पश्चिममा घाम डुब्ने बेला नै थियो । 

...

समय सधै एकैनाश हुँदैन थाहा छ । कालान्तरमा, म पनि रहरको उडान भर्दै सहर छिरे । घाम डुब्ने बेलामा मैले मेरा बा’भेट्न सक्दिनँ । यतिबेला त म कम्प्युटरका किबोर्डमा औलाहरु कुँदाई रहेको छु । बा’आमा मेलापातमै व्यवस्त होलान् । 

अब त यस्ता घामहरु वर्ष दिनसम्म अस्ताउदै, उदाउँदै गर्छन् । यसको कुनै माने नै छैन । वर्ष दिन पछि बा’आमा भेट्न जाँदा पनि मलाई फर्किनकै हतारो हुन्छ । 

घाम सधै यसै गरि डुब्छ । उदाउछ । डुब्ने बेलामा नमिठो गरि बिझाउँछ । 

तर, कस्सम !

यो डुब्ने बेलाको घामसँग मेरा मीठा यादहरु जोडिएका छन् । 


Post a Comment (0)
Previous Post Next Post