भ्वाइलेन्स पोखरा टु साइलेन्ट पञ्चासे



पञ्चासेमाथि घाम पहेलै भै सकेको थियो । म गाडीबाट ओलिएँ । 

गाडीबाट भर्खरै ओर्लिएकाले हुनुपर्छ, लुम्ले हुँदै बगेर आउने चिसो स्याँठले आँत नै हरर बनायो । बेँशिमा गोठालो सकेर छोरा मान्छेहरु मास्तिर उक्लिदै थिए । वरपरका पसलेहरु निकै चनाखो बन्दै थिए । कोही नयाँ मान्छे देख्यो कि पसलमा छिर्छ कि भनेर होला ! पर पुगुञ्जेलसम्म पनि टुलुटुलु हेर्दै बस्थे ।

...

दुई साता अघिको कुरा हो, यो । 

२ दिने पञ्चासे ट्रेकिङको योजना बनाएर घुर्मैलो साँझमा म भदौरे पुगेको थिएँ । हरिचोकबाट दिउँसो २ नबज्दै गाडी चढेको भदौरे पुग्दा घाम डुब्नै आँटेको थियो । दसैं अघि नै पञ्चासे जाने योजना बनाएका थियौ । तर, म तिहार पछि भदौरे पुगेको थिएँ ।

मेरा आत्मिय मित्र दिवस गुरुङको गाउँ हो, भदौरे । उनैले बनाएका थिए पञ्चासे ट्रेकिङको योजना पनि । दिवस जि पनि बेँशि गोठालो सकेर हतार हतार मलाई लिन आएका रहेछन् । 

उस्तै हँसमुख स्वभावमा दिवस जि ले आफ्नो गाउँमा आत्मियता दर्साए । 

कोरोनाकालदेखि दिवस जि यतै छन् । बेलाबेला पोखरा झरि राख्छन् । चिया भेटघाटमा डाँक्छन् । 

...

गाडीबाट ओर्लेपछि करिब ५ मिनेटको बाटो पैदल हिड्यौ । बाटोबाट खेतका गरा हुँदै ३ मिनेट जति उक्लेपछि दिवस जि को घरमा पुग्यौ । ढुंगाको छानोले छाएको कस्तो चिटिक्को रहेछ दिवस जि को घर त । दिवस जि को घरले एकै छिन मोहित पा¥यो । 

आँगनको डिलमा उभिएर भालो बाँस्यो । कुखुराको चल्लाले पँखेटा फिँजाएर चल्लाहरुलाई सक्दो न्यानो बनाउन खोज्दै थियो ।

यस्ता घरहरु सितिमिति देख्नै पाइन्न । क्यामेरा झिकेर क्लिक क्लिक पारें । 

दिवस जि को घर 


घरमा दिदी र भान्जाभान्जिहरु मात्रै थिए । बा’आमा खेतबाट आउनु भएकै थिएन । 

धत् !

कति हुस्सु म । केटाकेटीलाई चकलेट पनि नबोकी आएँ छु ।

...

एकै छिनमा बा’आमा आई पुग्नु भयो । मैले नमस्ते भनें । उहाँहरु दुवै जनाले गुरुङ लवजमा मेरो नमस्तेको प्रत्युत्तर दिनु भयो ।

दिवस जि जस्तै बा’आमा पनि उस्तै हँसिला । कस्तो खुलेर कुरा गर्ने । भान्जाभान्जि बाजे बज्यैको काखमा लुटपुटिदै थिए । उहाँहरुसँग कुराकानी हुँदै गर्दा मलाई पनि आफू यहाँ नौलो हुँ जस्तो लागेन । म पनि विस्तारै उहाँहरुसँग खुल्दै गएँ । 

रात झमक्कै छिप्पि सकेको थियो । आकाशमा एक निगालो माथि जुन उदाई सकेको थियो । पोखरा भन्दा भदौरे एकदमै जाडो रहेछ । अघि फुकाएको हाइनेकमा बस्दाबस्दै ज्याकेट पनि थप्नु पर्ने भयो ।

...

‘भान्सा तयार भयो,’ दिदीले खाना खान बोलाउनु भयो । 

सबै जना भान्सामा छि¥यौं । दिदीले घरका सबै जनाका लागि कोदोको ढिडो तयार पारे पनि मेरो लागि भात नै तयार पार्नु भएछ । सानो छँदा आमाले कहिलेकाही बनाउनुहुन्थ्यो । आजभोलि घरमा पनि बन्दैन ढिडो । 

मैले पनि ढिडो खाने रहर गरें । 

गाउँमै जन्मे÷हुर्केको मलाई ढिडो खान कम्ति सकस परेन । थालबाट टिप्न खोज्दा थालमै टासिने । बल्लतल्ल हातमा लियो । हातमै टाँसिने ! मैले ढिडो खान नजानेको देखेर सबै जना मज्जैले हाँस्नु भयो । मैले पहिलो चोटी भदौरेमा ढिडो खाएँ ।

...

बिहान सबेरै उठेर पञ्चासेको बाटो नाप्ने हाम्रो पहिलेदेखिको योजना । घाम नउदाउँदै अलिकति उचाईमा पुग्न सके पनि सूर्योदय राम्रो देख्न पाइने लोभले हामीले यस्तो योजना बनाएका थियौं । त्यसमाथि साँझको बास बस्न भदौरेमा आइ पुग्नु थियो । 

त्यो साँझ हामी अलि छिट्टै निदायौं ।

...

अबेरसम्म निदाइएला भन्ने डरले मोबाइलमा पाँच बजेको अलार्म सेट गरेर सुतेका थियौं । बाटोमा के के चाहिन्छ ? दिवस जि ले सुत्नु अघि नै ठिक पारेका थिए । बिहान चिया उमालेर थर्मसमा लैजाने बाहेकको सबै काम बेलुकै सकिएको थियो । 

अलार्म बजेपछि दिवस जि चिया उमाल्न थाले । म बिस्तरामै थिएँ । 

हाम्रो यात्राको अर्को सहयात्री थियो, भाइ सुरेश बि.क. । म सँग त उसको पहिलो भेट । बाटोमा भेटिने सल्लाह भएको थियो, फोनमा । बाटोमा कुरि राख्नु भन्दा घरमै पुगेर सँगै जानु बेस ठानेर सुरेश भाई आएछ । 

छिटो छिटो भन्दाभन्दै घरबाट निस्किदा ६ बँज्न १५ मिनेट मात्रै बाँकी थियो ।



...

घरबाट निस्किदा उज्यालो भएकै थिएन । 

टर्च बालेरै घरबाट निस्कियौं । सूर्योदय हेर्न चाँडै उचाईमा पुग्नु थियो । हाम्रा पाइलाले लामो लामो वेग हान्दै थिए । मोटर गुड्ने बाटो सकिएर उकालो सुरु नहुँदै मलाई पसिनाले ढाकी सकेछ । श्वास पनि फुल्न थाल्यो ।

पुट्ट निस्किएको भुँडी र मोटोपनको बेफाइदा मैले बल्ल महसुस गरें । घरबाट निस्किदासम्म अघि अघि लम्कि रहेको, म । सबैभन्दा पछि परें । 

श्वास साह्रै फुलेपछि साथीहरुलाई पनि हिँडाइको गति कम गर्न लगाएँ । 

...

हिड्दाहिड्दै फेवातालमाथि सूर्योदय देखियो । 

फेवातालको सिरानबाट एकैछिन सूर्योदय नियाल्यौ । दिवस जि ले ब्यागबाट क्यामेरा झिकेर क्यामेरामा कैद गर्न थाले । दुवै जनाले पालैपालो सुनराइजलाई क्यामेरामा निकाले । मेरो श्वास फुल्न रोकिएको थिएन । मैले आँखैमा कैद गरें ।

जाडो होला भनेर टिर्सटमाथि टिसर्ट खप्टाएर हाइनेकमाथि स्वेटर लगाएको थिएँ । पसिनाले भित्र पट्टीको सबै कपडा निथ्रुक्कै भिजि सकेको थियो । माथि माथि उचाईमा पुग्दा शरीरमै पसिना सुकाउनु हुन्न रे ! यो मैले नर्थ अन्नपूर्ण बेसक्याम्प जाने बेला थाहा पाएको थिएँ । पसिना ज्यानमै सुक्दा बिच बाटोबाटै फर्किएको थिएँ । झण्डै ज्यान नै जोखिममा परेको थियो । अब पनि किन उही गल्ति दोहो¥याउथे !

पसिनाले भिज्ने बित्तिकै कपडा फेर्दै अघि बढ्यौं । 

दिवस जि र सुरेश अघि अघि । दुवै जनालाई पछ्याउँदै म पछि पछि । 

बनै बनको बिचमा ढुंगाले छापेको बाटोमा अघि बढी रह्यौं । कुनै सर्रियल उपन्यासको प्लट जस्तै लाग्यो । त्यो निर्जन वनमा हाम्रा पैतालाका डोबहरु छोड्दै अघि बढी रह्यौं ।



...

पञ्चासे ताल पुग्दा बिहानको दश बँज्नै आँटेको थियो । 

बिचमा एक कप चिया र बिस्कुट खाएका थियौं । भरे फर्किन ढिला हुन्छ भनेर साथीहरुले अत्याई रहें । धन्न ! बाटोमा लट्ठी भेटिएको थियो र केही सजिलो भयो । 

पञ्चासे तालमा खाजा खाएर २ घण्टा लाग्दो रहेछ टुप्पोमा पुग्न । कोरोना महामारि नभएको भए त्यो समयमा ठूलो मेला लाग्दो रहेछ । ब्रतालुहरु पूजा गर्न यो तालसम्म पुग्दा रहेछन् । तालमा करिब ३० मिनेट रोकियौं । त्यसपछि अघि बढ्यौं । पञ्चासे तालमा हामीले फोटोहरु पनि लिएका छौं ।

...



एक दुई महिना ढिला गएको हुन्थ्यौं भने हिउँमाथि लुकामारी खेल्न पाइने रहेछ । हामी अलि छिटै पुग्यौं । बाइसे चौबिसे राज्यको भग्नावशेष देखि बौद्ध मुर्तिहरु पनि पञ्चासेमा स्थापना भएका रहेछन् । 

क्या गजब !

पञ्चासेमा बाहिरबाट आउने पाहुना बस्ने कटेज बनाइएको रहेछ । क्याम्पिङ गर्दै यहाँको मज्जा लिन पाइएन । हामी फर्कि हाल्यौं । 

उकालो त जेनतेन चढेको थिएँ । ओरालो ओर्लदा झनै सकस भयो । 

बाफ्रे !

खुट्टै ननुग्ने । धन्न ! यै लौरी रहेछ र !

...

त्यो दिन झण्डै २० किलोमिटर पैदल हिडियो । बेलुकी ६ बजे पञ्चासेबाट भदौरे झरेका थियौं । भञ्ज्याङ हुँदै झरेर चिया पिउन पाइन्छ कि भन्ने लोभ थियो । तर, कोरोनाको बहाना बनाएर कसैले चिया पिउन दिएनन् । 

भदौरे आइ पुग्दा आफ्नो शरीर धान्न सक्ने अवस्थामा म थिइनँ । पैताला, हात, खुट्टा पूरै शरीर करकरि खाई रहेको थियो । मेरो गतिमा हिँडेको भए त सायद, ट्रेकिङ लम्बिन सक्थ्यो । टुप्पोमा पुगेर फर्किने भनेरै निस्केका थियौं । फर्कियौं । 

अहिले पञ्चासेलाई मन भरि भरि मिस गर्दै छु । 

ए, अँ साँच्चि 

एकैछिन थकाई मारौं न भनेर बिन्ति चढाउँदा पनि एक्लै छोडेर बुकुर्सि मार्ने दिवस जि र सुरेश भाईलाइ मार्दिनु जस्तो रिस उठेको थियो, त्यो दिन । यो ब्लग लेख्दै गर्दा लभ यु वाला फिलिङ आइ दि रा !

न मरे बाँचे कालै ले साँचे फेरि जाऔंला नि त ! 











Post a Comment (0)
Previous Post Next Post