हजुरआमा,...

हजुरआमाले हामीलाई छोडेर गएको १४ वर्ष भै सक्यो । त्यतिबेला म जम्मा १२ वर्षको थिएँ । 

हाम्रो बुबाहरुका ५ भाई । ३ जना फुपु हुनुहुन्थ्यो । फुपुहरु सबैको बिहे भै सकेको थियो । दाई, दिदी पनि जन्मि सकेका थिए । हजुरआमाको उमेर पनि त ७० कटि सकेको थियो होला । 

पाँच भाई मध्ये बुबा जेठो भाई हुनुहुन्थ्यो । हजुरबाले दुई वटी बिहे गरेका रे ! जेठी हजुरआमापट्टीबाट बुबा माइलो पर्नुहुन्थ्यो । जेठी हजुरआमालाई मैले देख्न पाइनँ । हजुरबालाई पनि मैले जानिनँ । 

जेठी हजुरआमा बितेपछि हजुरबाले अर्की बिहे गर्नु भएको रे !


...

पाँच भाई छोराका २२ जना नाति नतिना । फुपुहरुको तिरबाट ३२ जना । सबै जना अलग भै सकेका थियौं । हजुरआमा कान्छो काकाकोमा बस्नुहुन्थ्यो । कान्छा बा’को घर बनि सकेको थिएन । सुत्न भने हजुरआमा हाम्रैमा आउनुहुन्थ्यो । घरमा मिठो मसिनो पाक्दा त हजुरआमा हाम्रैमा पनि खाना खानु हुन्थ्यो ।

३२ जना नाति नतिना का एक एक जनाका दरले पनि ६४ पनाति पनातिना हुन जान्थे हजुरआमाका । हजुरआमाले ३२ जना नातिनतिना त काँखमा लिन पाउनु भयो । दाई दिदीका पनाति÷पनातिनालाई पनि काँखमा लिनु भो । तर, सबैका हेर्न पाउनु भएन । समग्रमा ५ भाई छोरा र ३ बैनी छोरीका छोराछोरी र नातिनतिनालाई हजुरआमाले आफ्नै आँखाले हेर्न पाउनु भयो । अहिले पनि हेर्दैै हुनुहुन्छ होला !

...

हजुरआमाको फोटो म सँग छैन । उहाँको धमिलो आकृति सम्झनामा छ । सेतै फुलेको कपाल हजुरआमाले स्याप्प पारेर बाँध्नु हुन्थ्यो । हजुरआमा कालि हुनुहुन्थ्यो । दात सब्बै झरि सकेका थिए । हजुरआमा थोति भै सक्नु भएको थियो । कुनै साह्रो चिज हजुरआमा खान सक्नु हुन्थेन । 

मलाई अहिले पनि राम्रोसँग सम्झना छ, हरियो मकै अँगेनामा पोलेर सिलौटामा पिनेर मात्रै खानुहुन्थ्यो हजुरआमा । सिँगै गेडा चपाउन सक्नु हुन्थेन । बुढ्यौलीले पुरै छोपेको हजुरआमाको ढाड कुप्रि सकेको थियो । अलिकति हिड्दा नि स्याँ स्याँ हुन्थ्यो । 

३२ नातिनतिनाका १० जना छोराछोरीलाई त हजुरआमाले पक्कै हेर्नु भयो । तर, पनि हजुरआमाको माया कहिल्यै रित्तिएन । मैले कहिल्यै मेसो पाइनँ । 

...

म सानोमा धेरै नै पिन्चे थिएँ । सानो सानो कुरामा पनि म रोइ हाल्थें । सानो सानो कुराले पनि मलाई धेरै छुन्थ्यो । सानो सानो कुराले पनि म भावुक भै हाल्थे । यो बानी मेरो अझैं पनि उस्तै छ । 

म भन्दा साना साना भाई बैनीसँग पनि म हार्थे । सानोमा खेल्दाखेल्दै सानै धक्का लागे मात्रै पनि म रोइ हाल्ने । खेल्दाखेल्दै उठेर म चुक्लि लगाउन बा’आमाको अघि पुग्थें । बा’ले साथीहरुलाई हप्काइ दिएपछि मात्रै म शान्त हुन्थे । यसरी, बाल्यकालमा म सधैंको कजोर रही रहें । आफ्नै बुताले कसैलाई जित्न सकिनँ ।

...

मेरो बानी ठूलै हुँदासम्म पनि थियो । त्यस्तै, ५ कक्षामा पढ्दा होला । कारण, त मलाई सम्झना छैन । मेरा एक जना बालसखासँग झगडा प¥यो । उसले एक लात्ति के हानेको थियो, म त तिन बित्ता पर ढुनमुनिदै उछिट्टएर लड्न पुगें । उठेर प्रतिप्रहार गर्न पुगेको अर्को किक भेटें । 

अनेक तिकडम लगाउँदा पनि मैले उसको बराबरी गर्न सकिनँ । उसको अघि मेरो ख्याउटे शरीरको कुनै जोर चलेन । 

गर्ने के ?

अरु कुनै उपाय थिएन । स्कुलदेखि रुँदैरुँदै घर फर्के । 

घर पुगेर बा’लाई चुक्लि लगाएपछि बा’ले ठिक पार्लान् । यही अन्तिम विकल्प थियो । 

आफूलाई सक्दो पीडित देखाउने कोसिस गर्दै रुँदैरुँदै घर फर्किएँ । बा’स्कुलकै मास्टर भएको हुनाले पनि आफूले न्याय पाउनेमा म पूर्ण विश्वस्त थिएँ । बा’लाई चुक्लि लगाएपछि सब ठिक हुन्छ भन्ने नै थियो ।

म रुँदै घर फर्किएँ । स्कुल बिदा भै सकेपछिको घटना थियो यो । 

...

घरमा हजुरआमा एक्लै हुनुहन्थ्यो । आमा मेलाबाट फर्किनु भएको थिएन । 

देख्ने हजुरआमा मात्रै हुनुहुन्थ्यो । 

लौ प¥यो फसाद ! 

हजुरआमालाई दुखेसो पोखेर कुनै काम थिएन । बा र आमा मध्ये एक जनालाई आँसु देखाउनु पर्ने थियो । बा’आमा दुवै जना घरमा हुनुहुन्थेन । तैं पनि मैले रुँन छोडिनँ । बस्, रोइ मात्र रहें ।

...

मेरो रुवाईले हजुरआमालाई नपोल्ने कुरै आएन । आखिर, उहाँकै वंश न परें ।

हजुरआमाले धेरै फकाउने कोसिस गर्नु भयो । तैं पनि म फकिन चाहिनँ । धेरै कोसिस गर्दा पनि नसकेपछि मिश्री र नरिवल खान दिएर हजुरआमाले मलाई फुल्याउनु भयो । 

मैले मिश्री टोक्न थालें । हजुरआमाले मलाई सुम्सुम्याउन थाल्नु भयो । 

‘छोरा मान्छे भएर पनि यस्तो पिन्चे हुन्छन्, आफैंले जित्न पर्छ’ 

मिश्रीको टुक्रामा म भुलेपछि हजुरआमाले मलाई सम्झाउनु भयो । अरु के के भन्नु भो, त्यो मलाई याद छैन । याद, गर्ने कुरा पनि भएन । म मिश्री र नरिवलको टुक्रा टोक्नैमा भुलें ।

...

कालान्तरमा, 

हजुरआमाले भन्न खोज्नु भएको शब्दको अर्थ बुझ्दै छु । सिक्दै छु । ति खस्रा हातको स्पर्श स्मृतिमा धमिलो बनेर बसेको छ । त्यसपछि, मैले कैले पनि घरमा चुक्लि लगाइनँ । चुटाई भेटेर आए पनि आफैं भित्र गुम्साएर राखें । त्यही दिन देखि नै त हो । म आफूले आफैंलाई बलियो देख्न थालेको ।  

हजुरआमा तपाईलाइ प्रत्येक चोटी लड्दा सम्झि राको छु ।

 


Post a Comment (0)
Previous Post Next Post