‘सिक्ने हो त भाञ्जा ?’

 



‘सिक्ने हो त भाञ्जा ?’

हिजो जस्तै लाग्छ रोशनलाई, मामाले यसो भनेको । अहिले सम्झिदा अनौठो पनि लाग्छ । भर्खर एसएलसीको तयारी गर्दै गरेका रोशनले कहिल्यै सोचेका थिएनन्, कुनै दिन ‘प्यारापाइलट’ बनुँला भनेर । उनै रोशन सुनुवार जो पोखराको आकाशमा उडि रहेका हुन्छन् । 

‘मामाले सिक्ने हो त भाञ्जा भनेर भन्नु भयो । सिक्न पाएँ त मज्जा हुन्थ्यो होला जस्तो पनि लाग्यो । अनि, हुन्छ मामा म सिक्छु भनें । सिक्नको लागि म सँग जानुपर्छ । काम जे पनि गर्नुपर्छ भनेर भन्नु भयो । एक वर्ष काम गरेपछि मैले प्याराग्लाइडि सिकाइदिन्छु भनेर भन्नु भयो,’ पूराना दिन सम्झिदै उनले भने, ‘मैले पनि हुन्छ जे पनि गर्छु भनेर सिकियो । प्यारापाइलट नै बन्छु भन्ने नै थिएन ।’

तपाईँले सुन्नु भएकै होला, सानो बाबु सुनुवार । प्याराग्लाइडिङमा रुचि राख्नेहरुको लागि यो त्यति धेरै नौलो नाम भने होइन । बाबु एड्भेन्चर्सका सञ्चालक सानो बाबु सुनुवार रोशनका मामा हुन् । हो, उनै सानो बाबुको पछि लागेर सिन्धुलीको डुडभञ्ज्याङदेखि आएका रोशन सुनुवार अहिले पोखराका उम्दा प्यारापाइलटमध्येका एक हुन् । ‘लगभग ३ वर्षै हुन आँट्यो म प्यारा पाइलट बनेको पनि,’ रोशनले सुनाए । 



मामाको एउटा शब्दले रोशनलाई प्यारापाइलट बन्ने बाटोमा डोहोर्‍यायो । थुप्रो अप्ठ्यारा झेलें । मामाले सुरुमै भनि सकेका थिए, ‘काम जे पनि गर्नुपर्छ । प्याग्लाइडिङ म सिकाउछु ।’ 

मामाको स्कुलमा गेष्ट पनि आई रहने । प्याराग्लाइडिङ कोर्ष सिक्ने विद्यार्थीहरुमा पनि । उनीहरुले खाएका भाँडा माँझ्नेदेखि खाना बनाउनु पथ्र्यो । त्यहाँ गारो लगाउनेदेखि दाउरा काट्ने, कोदाली लगाउने । नगरेको कुनै काम बाँकी रहेन रोशनले गर्नलाई । ‘मामाले एक वर्ष काम गरेपछि मैले सिकाइदिन्छु भन्नु भएको थियो । सिकाउनु भयो,’ उनले सुनाए ।

दुख पछि सुखका दिन आउछन् नै । रोशनका पनि आए । एक वर्षपछि सोलो पाइलट भए । रमाइलो लाग्यो । ‘अब त म पनि आकाशमा उड्छु,’ रोशनले मनमनै भनेका थिए रे ! 

कहिलेकाही उड्दाउड्दै पनि ल्याण्ड गर्नुपर्ने हुन सक्छ । हावाको भरमा उड्ने हो कुनै भर नै हुँदैन । उड्दा उड्दै कतै गएर हावा नमिले झर्नुपर्छ । पैसा भए पनि खाने ठाउँ नहुन सक्छ । गाडी नपाइन सक्छ । २०/३० किलोको झोला बोकेर हिड्नुपर्छ । यस्तो बेलामा मष्तिस्कले पनि कसरी काम गरोस् ?

रोशन सम्झिन्छन्, ‘कहिलेकाही दुखको पनि मज्जा हुँदो रैछ । त्यत्रो आकाशमा उड्दा यत्रो बाटो त हिडीन्छ  जस्तो पनि लाग्ने । नयाँ गाउँमा पुग्दा यो झोला के हो भनेर सोध्नु हुन्थ्यो । कस्तो खुसी लाग्थ्यो । म यो हो यस्तो मान्छे भन्दा एकदमै खुसी लाग्छ ।’

स्याङ्जाको स्वरेक मैदानबाट उडान सुरु गरेका रोशन अहिले पोखरामा छन् । ३ वर्ष भई सकेछ उनले आकाशमा उडान सुरु गरेको पनि ।

सोलो उडान हुँदै टेन्डम, एसआइबि र हाइफ्लाइ गर्न पोखरा आएका रोशनको दैनिकी आजकाल आकाशतिरै बित्छ ।  दिनमा दुई वटा उडान भर्छन्, रोशन । 

पोखरामा हल्ला छ ...

रोशनलाई अचेल एउटै कुराले बिँझाउछ । बन्दै गरेको इन्टरनेशनल एअरपोर्ट सञ्चालनमा आएपछि प्याराग्लाइडिङ बन्द हुन्छ रे ! हुन पनि केही समय अघि वैकल्पिक उडानको सम्भाव्यताको खोजी हुँदै थियो । ‘इन्टरनेशलन एअरपोर्ट बनेपछि बन्दा हुन्छ हुन्न भन्ने हल्ला पनि छ । के हुने हो भन्ने जस्तो लाग्छ । बन्द नभए राम्रै हुन्थ्यो,’ उनले भने । 


अहिले त रोशनका बुबाआमा पनि खुसी छन् ।  बुबाआमालाई उडाउनु भयो त ? मैले सोधी हाले, ‘अहिलेसम्म त उडाएको छैन । यहाँ आउनु भयो भने उडाउछु ।’ 


2 Comments

Post a Comment
Previous Post Next Post