यौटा विद्रोही जोडी ...



देशमा दश वर्षे जनयुद्ध सुरु भई सकेको थियो । त्यही बेला म जन्मिएँ । 

जनयुद्ध उत्कर्षमा पुग्दै थियो । यता म हुर्किदै थिएँ । तिनताका गाउँमा विद्रोह बोल्नेहरुको बोलबाला बढी थियो । 

विद्रोहीहरु गाउँ पसेर विद्रोह गर्न सिकाउथे । आफ्नो हक, अधिकारको लागि लड्नुपर्छ, सरकारी ज्यादती सहनु हुन्न ।

खै, कुन्नि के के भन्थे ।

उनीहरुले जे जे भने पनि त्यो बेलामा मैले यत्ति बुझें, विद्रोह राज्य विरुद्धको हुन्छ । 

युद्ध सकियो । शान्ति पक्रिया आयो । सानै भए पनि देशमा परिवर्तन आयो । के के भयो भयो ? अहिले त्यता नजाउ ...

अँ, 

मैले विद्रोह भनेकै राज्य विरुद्ध हुँदो रहेछ भन्ने बुझें, त्यो बेला । 

...

समयले सबथोक सिकाउछ । 

धेरथोर मैले पनि सिकें । विद्रोह एक ठाउँमा मात्रै नहुँदो रहेछ । यहाँ त पाइला पाइलामा विद्रोह हुँदो रहेछ । हुनुपर्दो रहेछ । यो त्यही विद्रोही जोडीको कथा हो । 

भ्यालेन्डानइन डे सकिई सकेको थियो । 

उनीहरुसँग मेरो भेट भयो । लेकसाइडको यौटा ट्रेकिङ कम्पनीमा करिबन एक घण्टा बढी गफिएका थियौं । 

मनु(मुना)गुरुङ र सनकुमार जुग्जाली । उनीहरुको नाम ।



मनुको विद्रोह 

पढाई छुट्यो । बुवाको माया छुट्यो । र, पनि मनुले हिम्मत हारिनन् । बुवा बित्दा मनु जम्मा ५ वर्षकी थिइन् । १३ वर्ष अघि मनु(मुना) गुरुङले यही समाजसँग मनाङको दुर गाउँदेखि विद्रोह बोलिन् । ‘तिमी नजाउ, यसरी जानु हुँदैन, बिहे गरेर बस्नुपर्छ । यसरी गयौ भने हाम्रो छोरीहरुले पनि तिम्रो फलो गर्छन्, तिमी एक जनाले गर्दा हाम्रा छोरी बिग्रिए भने तिमीले जिम्मा लिन सक्छ ?’ गाउँलेहरु भन्थे ।  

आगोले के पोल्छ ? काँडाले के बिझाउँछ ?

मनुलाई गाउँलेको कुराले बिझाउनु बिझायो । पोल्नुसम्म पोल्यो । 

उनलाई थाहा थियो, जे जस्तै भए पनि आखिर समाज त चाहिन्छ नै !

भोलि त यही समाजमा बाँच्नु छ । उनी नभए पनि आमा र भाई गाउँमै बस्नु छ । मनुले विस्तारै आफैंलाई विश्वास पनि गरिन्, मलाई जे ठिक लाग्छ त्यो मैले गर्नुपर्छ भन्ने पनि लाग्यो । यही सोचेर म आएँ

यो विद्रोह उनीसँग मात्र होइन । आफू बाँचेको समाजसँग पनि थियो । मनाङदेखि पोखरा झर्नु मनुका लागि नौलो थियो । थ्रि सिस्टर्सले रक क्लाइम्बको ट्रेनिङ दिलाइदिने भएपछि उनी पोखरा आइन् । तर, सिँगो समाजले उनलाई नराम्रो सोच्दैछ । 



रक क्लाइम्बिङ यात्रा 

रक क्लाइम्बिङ सिक्न पोखरा त आइन् । के हुने हो ? कसो हुने हो ? मनमा डर थियो । डरै डर बोकेर पनि मनुले हिम्मतको धागो चुड्न दिइनन् । आफैंलाई विश्वास गरिन् ।

थ्रि सिस्टर्सले नै सबै थोकको बन्दोबस्त मिलाई दिएको थियो । बस्, उनलाई सिक्नु थियो । बिग्री भन्ने समाजलाई बनेर देखाउनु थियो ।

सिक्नु पहिले नै आइस क्लाइम्ब गर्ने मौका पाइन मनुले । ट्रेनिङसँगै टेन पिक पनि चढीन् । २००९ मा मनाङकै पिक पनि चढ्न पाइछन् । यो राम्रो मौका हुन सक्थ्यो मनुको लागि । उनले राम्रै गरिन् । 

थ्रि सिस्टर्सबाटै एड्भान्सको लागि इटली पनि पुगिन् । त्यहाँ पनि पिक चढिन् ।

२०११ मा भिजिट नेपाल चल्दै थियो । मनु आफ्नो टिम बाँधेर अन्नपूर्ण चढ्न हिडिन् । सफल पनि भइन् । शान्ति राई, निरमा राई, सरस्वती विक र उनको टिमले वल्र्ड रेकर्ड नै बनाएको थियो । जुन अहिलेसम्म कसैले ब्रेक गरेको छैन । 

अहिले उनका साथीहरु अन्तै छन् । रक क्लाइम्बीङ छोडी सके रे ! 

तर, उनी यही क्षेत्रमै छिन् । उनलाई त आफ्नो बाटो सही छ भनेर देखाउनु थियो ।

..., 

अन्नपूर्ण पिक चढेपछि त के थियो र जताततै मनु नै मनु । 

रेडियो, टेलिभिजन जताततै मनु । गाउँको मान्छेको माइन्ड पनि चेञ्ज भयो । अनि त के थियो मनाङको तारा पो भन्न थाले कुरा काट्नेले । 

अहिलेसम्म २००८ देखि १० पिक तीन चोटी, अन्नपुर्ण, चुल्हो वेस्ट, मेरा पिक, आइलम्पिक, फोकल ते लगायतका पिक चढी सकेकि छिन् मनु ।  

केही महिना अघि मात्रै मनु र सनकुमारसहितको टिमले धम्पुस पिक पनि चढी सकेको छ । 

यात्राकै क्रममा मनु विभिन्न ठाउँ पुग्छिन् । धेरै थरिका मान्छे संग ठोक्किन पुग्छिन् ।  कहिलेकाँही यस्ता पनि मान्छे भेटिन्छन्, विदेशी महिलाले मात्र चढ्ने पिक तिमीहरु किन आएको भनेर प्रश्न गर्दा रहेछन् । नत्र विदेशी सँग बिहे गरे मात्र चढ्छन् । 

नेपालीकै बुढी भएर चढ्न पनि नपाउने ?

यो कहाँको न्याय । कति पछि छ हाम्रो समाज ।  यसले थप हिम्मत बढ्यो । अहिले त नेपालीकै बुढी भएर संसार चिनाउछु भन्ने आँट आएको छ मनुलाई ।



भलिबलले जुराएको भेट

कहाँ लाहुर हिडेका सनकुमार । कहाँ मनाङकी मनु ! 

माया बस्नु त परको कुरा भेट हुनु पनि संयोगकै बात ।  

भेट पनि कस्तो भने मनुलाई पहिलो भेटमै सनकुमार मन परेनछ । 

कायाकिङ मास्टर सनकुमार र रक क्लाइम्बर मनुको भेट फिल्ममा देखिने पात्र भन्दा कम्ति कहाँ छ र ! 

त्यो बेला सनकुमार खुबै भलिबल खेल्थे । मनुले पनि त्यही बेला देखेको रे !  'पूरै रफ टाइपको के, केशव साथीसँग बोलेको । म त्यति बोलेन । रफ टाइपको थियो । म गाउँबाट झरेको । उलाई देखेर मेरो सबै साथी डराउने । उसलाई हेर्दा कस्तो कस्तो खालको,' मनुले सुनाइ रहँदा सनकुमार मुसुमुसु हाँस्दै थिए । 

बाहिरबाट रफ भए पनि मनका सफा । बाहिर जे जस्तै भए पनि भित्र ठिकै होला भन्ने लाग्यो रे ! मनुलाई । 

अब त फेरियो होला भनेको २ वर्ष भएपछि भेट्दा त फेरि ट्याटु खोपेर आएछन् सनकुमार । मनुको फेरि मन कुँडियो । 

'मेरो कन्सेप्ट भनेको ट्याटु हानेको बाल पालेको केटी नै बेच्ने जस्तो लाग्थ्यो । म यस्तो नराम्रो मान्छेसँग साथी भएछु भन्ने लाग्यो । मेरो दिदी कस्तो मान्छे सँग हिड्छ भन्ने लाग्यो । एक महिना ऊ सँग कल रिसिभ पनि गरेन,' रमाइलो किस्सा सुनाइन् ।  

आमा सम्झिन् । भाई सम्झिन् । गाउँलेको नमिठो बात पनि सम्झिन मनुले । बितेको बाको पनि इज्जत सम्झेर उनी टाढै बसिन् रे ! 

बाहिर रफ भए पनि सफ्ट छ भनेर साथीहरुले सम्झाएछन् । सक्दो सनकुमारदेखि टाढा बस्ने कोसिस गरिन् मनुले । त्यसपछि कसरी साथी बने थाहा नै भएन । अनि त भेटघाट बढ्दै गयो । माया बस्यो ।  

...

एघार वर्षदेखि सम्बन्धमा बसे पनि यही वर्ष घर भित्रीछन् मनु,  ससुरालीमा त अझैं बाँकी नै छ । केही छिन पर्खिने छिट्टै नदिने रे । विधि पुगेको छैन । 

भन्छन् नि, मान्छेको जिन्दगी पनि किताब जस्तै हो । कतै सुख्खका कथा कतै दुखका । दुखले सुख खोज्न सिकाउछ । सुखले बाँच्ने साहस दिन्छ । 

मनुको पहिलो बिहे पनि भएको रहेछ । उसै त सानो केही ठाउँ पाउनै हुन्न कुरा काट्नेहरु सुरु भै हाल्छन् । अझ, दोस्रो बिहे । समाजसँग विद्रोह बोल्नु त्यति सजिलो थिएन । र, पनि उनीहरुले बोले । पहिलो विवाहपछि छोरी जन्मेकी रहिछन् मनुको । छोरी अहिले उनीहरुसँगै राखेका रहेछन् । 

मिठो कहानी जस्तो लाग्ने मनुको दुख्खलाई सनकुमारले आफ्नो माने । स्टाइलिस सनकुमारलाई मनुले आफ्नो ठानिन् । मनुको दोस्रो भए पनि सनकुमारको पहिलो बिहे थियो । उनले सम्झाइन् पनि । तर, सनुकुमारको माया झेलि थिएन। 



अहिले कोरोनाले संयोग जुराएर मात्र नत्र मैले पनि भेट्न नपाउने रहेछु । ६ महिना बुढो जापान । ६ महिना बुढी ट्रेकिङ । घरबेटीले पनि कस्तो बुढाबुढी हो भनेर पनि भन्छन्, सनकुमारले सुनाए । 

अन्तिममा मैले सोधे ? 

यो भागदौड कहिलेसम्म ...

मनु : अझैं धेरै गर्न बाँकी छ । भविष्यमा एभरेष्ट चढ्ने योजना छ । त्यसपछि सोच्ने ।

सनकुमार : उसको सपना पूरा नगरेसम्म ...



 


Post a Comment (0)
Previous Post Next Post