डियर, एक्स 'घरधनी'




सहरमा मेरो पहिलो डेरा न्युरोडमा थियो । आदर्श समाज पत्रिकाको आडैमा म बस्थें । भर्खर बिहे भएको थियो । बिहे हुनु अघि म दिदीको घरमा बस्थें । डेरा बसाईको अनुभव म सँग थिएन । बिहे पछि दिदीको घरमा म अटाइनँ । छुट्टै बसेरा बनाउनु प¥यो । बनाएँ । 

...

बिहेपछि श्रीमति माइती गइन् । 

म पोखरामै थिएँ । कता बस्ने ? टुंगो लागि सकेको थिएन । 

अफिस न्युरोडमा थियो । न्युरोड आसपासमै बसे गाडी भाडा जोगिन्छ । गाडी भाडा जोगिएको पैसाले श्रीमतिलाई चट्पटे र पानीपुरि खुवाएर खुसी पार्न पुग्थ्यो । समय पनि जोगिन्थ्यो । अरु पनि धेरै थोक फाइदा हुन्थ्यो । 

मनमनै न्युरोडमै बस्ने योजना बनाएँ । श्रीमति पनि राजी भइन् । 

चिने जानेका सबैलाई न्युराड आसपासमा कोठा खोजि दिन भनें । 

...

झण्डै, 

एक महिनापछि कोठा भेटियो । भेटियो भन्दा पनि पाइयो । 

‘आदर्श समाज पत्रिकाको आडैको घरमा कोठा खालि छ । एक पटक हेर्न आउ,’ खाना खादै थिएँ, एकराज दाईले फोन गरे । 

खाना खादै थिएँ । खादाखादैको गाँस छोेडेर कोठा हेर्न जाउ जस्तो भयो । 

कोठा पाइयो ? 

श्रीमति ज्यु को प्रश्नको उत्तर दिँदा दिदै थाकि सकेको थिएँ । ‘छिटोछिटो कोठा खोजेर रेडी बनाउन,’ उर्दी आई रहेको थियो ।

जस्तोसुकै भए पनि कोठा मात्रै पाउन पाए बसेरा बसाइ हाल्ने मनस्थितिमा थिएँ । 

कोठा पाइयो ...

चाउथे दिदीको घरबाट बिहानै न्युरोड हानिएँ । एकराज दाई र म कोठा हेर्न गयौं । 

कोठा ठूलै थियो । ट्वाइलेट बाथरुम पनि नजिकै भएको कोठा ठिकै लाग्यो । यत्तिको भएपछि दुई जनाको परिवार अटिन्छ । बाँकी कुरा त तपशिलका हुन् ...

कोठा फाइनल भयो । भोलि नै सामान लिएर आउने कुरा भयो । 

घरधनीले हजार रुपैयाँ पेश्कि दिनुस् भने । मैले दिएँ । 

पानी बत्तिको पैसा आफैले तिर्नुपर्छ । फोहोर गर्न नपाइनेदेखि भित्तामा किला गाड्न नपाइनेसम्मको घरको नियम कानुन रहेछ । ती सबै पालना गर्नुपर्ने सुनाए । कोठा नपाएर हैरान भएको थिएँ । उनले जे जे भन्छन्, सबैमा मञ्जुरनामाको लाहाछाप लगाई रहें । त्यहाँबाट निस्किएँ । 

...

हामी बस्नुभन्दा पहिले कोही बसेर गई सकेको रहेछ । 

भित्तामा अलिकति धब्बा थियो । खाना पकाउँदा बाँफले धब्बा बसाएको थियो । पत्रिकाले छोपेर खाना पकाउने ग्याँस हामीले पनि त्यही ठाउँमै राख्यौं । 

अफिस नजिकै भएकाले काममा आउजाउ गर्न पनि सजिलो भएको थियो । उनले (श्रीमति)ले पनि मेडिकलमा काम पाई सकेकी थिई । दैनिकी व्यस्ततामै बित्थ्यो । कोठामा बिहान बेलुकी मात्रै हुन्थ्यौं । 

...

त्यो दिन, 

काम सकेर कोठामा फर्किदै थियौं । 

त्यस्तै, १५ दिन जति भएको हुँदो हो डेरा गरि बस्न थालेको । धरधनीले भाई यता आउ त एक छिन भनेर बोलाए । म पनि उनी भएतिरै गएँ । उनले कागजको टुक्रो थमाए । 

कागजमा जोड घटाउको गणित थियो । 

किन दिए ? बुझिनँ ...

'के हो यो ?' सोधें 

'पानीको बिल'

'कति हो ?' 

'१५ सय'

१५ सय ....

एकै छिन त आत्तिएँ । 

१५ दिनमा पानीको बिल १५ सय ! 

कहाँ गाउँमा पानीमै खेलेर हुर्केको मान्छे । कहाँको महिनामा पानीको १५ सय बिल । यसरी त एक महिनामा पानीकै बिल तीन हजार तिनुपथ्र्यो । यसअघि डेरा जिन्दगीको अनुभव थिएन । खल्तिमा एक पैसै थिएन । के गर्ने ? कसो गर्ने ? हातखुट्टा गल्यो । भोलि दिउला भनेर निस्किएँ । बिल उनैलाई दिएँ । 

कोठा भाडा ५ हजार । पानीको ३ हजार । बत्तिको समेत जोड्दा १० हजारै भेट्थ्यो । कमाई थियो १५ हजार । 

टाउको दुख्न थाल्यो । 

के गर्ने ? कसो गर्ने ? 

भोलिपल्ट १५ सय खोजखाज पारेर तिरे । 

त्यसपछि केही दिन सामान्य बिते । कामैकामले कोठामा बस्ने फुर्सद त थिएन । घरबेटीसँग देखादेख पनि कम हुन्थ्यो । 

कामबाट फर्किदै थिएँ । घरधनी गेटमै रहेछ । 

नागरिकताको फोटोकपि मागे । विश्वास नलागेर मागेको होला भनेर त्यति ठूलो इस्यु बनाउन मन लागेन । मैले पनि दिएँ । बुढी औंलाको छाप पनि लगाउ भन्यो । मैले लगाइ दिएँ । 

.

कोठा पनि कस्तो भने सिँगो घरै भाडामा लगाइएको थियो । घरधनीको परिवार छुट्टै घरमा बस्थ्यो । हामी बस्ने घरमा डेरा गरि बस्नेहरु मात्रै बस्थे । सुरुमा तीन वटा कोठामा मात्रै मान्छे बस्थ्यो । पछिपछि त तल्लो फ्लोर माथिल्लो तला सबै भरिन थाले । बिहान ५ बजेपछि घरधन्दा सुरु हुने । हल्लाले राम्रोसँग सुत्न पनि नपाइने । ट्वाइलेट जान पनि लाइन बस्नुपर्ने । 

डेरा जिन्दगीको महिना दिन पनि पुगेको थिएन । आजित भई सकेको थिएँ । पैसा मात्रै लिने सुविधा कम । एक दुई जना भए पो हुन्थ्यो । १०, १५ जनाको परिवार एकै ठाउँमा भएपछि फोहोर पनि उत्तिकै हुने नै भयो । यल्ले सफा गरेन । तेल्ले गरेन । झगडै पर्न थाल्यो । स्थिति घर सफा गर्न पनि रुटिन बनाउनुपर्ने भयो । जस्तो कि ः आइतबार हामीले ग¥यौं भने सोमबार अर्कोले । 

...

पछिपछि त त्यो घरमा पस्नै नपरे हुन्थ्यो जस्तो लाग्न थाल्यो । 

बरु, कामै काम मात्र भै दिए हुन्थ्यो जस्तो लाग्थ्यो । गेटमा नयाँ मान्छे कोही आयो कि भुस तिघ्रे कुकुर भुँकी हाल्ने । न राम्रोसँग पानी आउने ।  हल्लाखल्ला मात्रै बढी दिमागले काम गर्न छोडी सकेको थियो । 

वाक्कै भएर

यो भन्दा बढी यो घरमा बस्यो भने त पागलै भइन्छ भन्ने निष्कर्षमा पुग्यौं । बरु, दुई पैसा बढी खर्च होस् । अलि शान्त ठाउँमा बस्ने योजना बनायौं । डेरा जिन्दगीको अलिअलि त अनुभव भै सकेको थियो । हामी आइ सकेपछि पनि दुई जना परिवार त सरेर गई सकेको थियो । कोठा सर्ने योजना बनाएको त्यस्तै १५ दिनजतिमा नयाँ गाउँमा कोठा पनि पाइयो । 

भोलिपल्टै कोठा सर्ने योजना बनाएर बाँकी तिर्नुपर्ने रकम तिरेर कोठा सर्न लागेको जानकारी गराएँ । 

भोलिपल्ट, 

पोकोपुन्तुरो कसेर सकिई सकेको थियो । सामान बोक्न गाडी बोलाई सकेको थिएँ । आउँदै थियो । सामान बाहिर निकालेर कुर्दैै थियौं । 

घर धनीले कोठामा बोलाए । म लुरुलुरु गएँ । 

भएछ के भने भित्तामा लागेको धब्बा लागेछ । नयाँ रंग लगाउन पैसा लाग्ने भो । त्यसको भरपाई कोडा छोडेर निस्किनेले भरपाई गर्नुपर्दो रहेछ । 

मैले दिन्न भने । 

कोठामा बसुञ्जेल भनाभन कहिल्यै भएको थिएन । पैसा तिर्दिन भनेको एक्कासी कड्कियो । 

जे सुकै गर तर पैसा दिन्न भनेर एकै छिन त भनाभनै भयो । अन्तिममा नागरिकताको फोटोकपि र सही छाप पो लिएर आउछ । 

कोठा छोडेर जाने बेलामा कड्कीएको त मैले पहिले नै देखेको थिएँ । तर, कारण के हो थाहा थिएन ।

नदिउ सही छाप छ । दिउ । पहिले नै नियम कानुन सबैतिर मञ्जुरनामा सहित सहि छाप लगाई सकियो । 

मुर्ख सँग दैव डराउछन् भन्छन् । साँच्चिकै हो रैछ । उसलाई पैसा दिएर निस्किएँ । 

पर्सिपल्ट, 

नेटको तार झिक्न जानुपर्ने थियो । गएँ ।

यसपटक पनि घरबेटी गेटमै रहेछ । मलाई देख्ने बित्तिकै सुरुमा त लोसे पारामा बसि रहेको मान्छे हावा भरेको ट्युब झैं टाइट भयो । 

आफू फर्केर जानुको कारण खुलाएँ । 

अस्ति तिमी गै हाल्यौं । कोठामा रंग लगाएको अझैं ५ सय रुपैयाँ पुगेन देऊ, अब त यो मान्छेबाट छुटकारा पाए भनेको उल्टै पैसा माग्छ । एकै छिन त अक्क न बक्क ..

...

६ वर्षे पोखरा बसाईमा ६ चोटी डेरा सरि सकें । अहिले नयाँ घरधनीको माथिल्लो तलामा बस्छु । घरबेटीको परिवार तल्लो तलामा बस्छ । 

न्युरोडबाट पाँच ठाउँमा डेरा सरि सकें । अझैं पनि जब घर सर्नुपर्ने अवस्था आउछ । मेरो भूतपुर्व घरधनी बहुत याद आउछ । बेलाबेला हामी ऊ सँग जोडिएका अनेक किस्सा सम्झिन्छौं । मज्जा लिन्छौं । 

आर्दश समाज आसपासको गल्लिहुँदै जब म हिडी रहेको हुन्छु । एक नजर त्यही घरतिर फ्याक्छु, 'आज कुन चाही डेरावाललाई यसले कानुन सिकाउँदै छ ?'


Post a Comment (0)
Previous Post Next Post