पस गाउँका सम्झनाहरु ...



पस गाउँ पुग्दा वल्लोपल्लो डाँडा सबै तुँवालोले ढाकिएका थिए । माथि डाँडाबाट हेर्दा गाउँ पनि राम्रोसँग देखिएको थिएन । 

बिहान ७ बजे पोखराबाट गाडी चढेका थियौं । पस गाउँ पुग्दा ११ बजि सकेको थियो । 

...

लमजुङको क्होलासोथर गाउँपालिका ६ मा पर्ने क्होम्रे डाँडा गुरुङ जातिको पुख्र्यौली थलो हो । क्होम्रे देवतालाई गुरुङ जातिहरु आफ्नो तीर्थस्थल मान्दा रहेछन् । त्यही पुख्र्यौली थलोमा भूपू सैनिक र स्थानीय सरकारको पहलमा मोटरबाटो पु¥याइएको छ । नयाँ वर्षमा बिजुली बत्तिको उद्घाटन पनि गर्ने । गाउँलेहरु आपसमा भाइचारा पनि बाडिने भनेर कार्यक्रम राखिएको रहेछ । सोही कार्यक्रममा सहभागी हुन म पनि पस गाउँ पुगेको थिएँ । 

गाउँमै आयोजना हुँदै आएको पस गाउँ महोत्सवको ११ औं वर्ष पनि क्होम्रे डाँडामै मनाइँदै रहेछ । 



घाम टाउकैमाथि थियो । तैं पनि सूर्यास्त जस्तो । गाउँलेहरु जति खुलेका थिए । घाम त्यति खुल्न सकि रहेको थिएन । बिहानको खाना कार्यक्रम स्थलमै भयो । नाँचगान, गफगाफमा सबै जना मस्त । गाउँ छोडेर सहर झरेका पनि त्यो दिन गाउँ सम्झेर फर्किएका थिए ।

म उनीहरुको अनुहारको हाउभाउ हेरेर बुझ्थें, लामो समयपछि आफ्ना प्रियजनसँग भेटिदा कति खुसी छन् भन्ने । बोलेको बुझिनँ । करिब २, ३ घण्टा लामो पैदल हिडेरै आएका गाउँबासिहरु देख्दा मलाई आफ्नै गाउँ पुगे झैं फिल भई रह्यो । तर, एउटै भाषा थियो । जो मेरो गाउँ सँग नमिल्ने । तैं पनि मैले रमाइलो मानि रहें ।



कार्यक्रम सकियो । 

गाउँसम्म हिडेरै जाने भयौं । बिहान हामीलाई पोखरादेखि ल्याएको गाडी फर्की सकेको थियो । जाँदा सूर्य गुरुङ दाई (मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका स्वकीय सचिव)सहित ६ जनाको टिम थियौं । फर्किदा गाउँका दाजुभाईहरु पनि सँगै भए । 

ढुंगाको सिँढी हुँदै ओर्लिदा रमाइलै भयो । करिब ५ सय मिटर तल झरि सकेपछि ओर्लन अलि गाह्रो हुन थाल्यो । गाउँमा जन्मेर, हुर्केको मलाई अलिकति ओरालो पनि हिड्न गाह्रो भई रहेथ्यो । यो भन्दा भद्दा मजाक अरु के होला । हुन पनि हिड्ने बानी छुटेको छ । दिनमा दुई, चार पाइला अघि बढाउने पनि कोठाभित्र बाहिर गर्दा मात्रै हो ।

...

गाउँ पस्दा ढिला हुन्थ्यो । त्यसैले हामी सिधै कार्यक्रमस्थल लागेका थियौं । 

पस गाउँका हरेक चिजले मन लोभ्याउँछ । कुनै उम्दा चित्रकारले कोरेको चित्र जस्तो लाग्ने पस गाउँमा पाइला टेक्दा पनि छुट्टै अनुभव भै रहेथ्यो । 

ढुंगाका छपनीले बनाइएका यहाँका बाटोमा पाइला अघि बढ्दै जाँदा तपाईँको मुखबाट फ्याट्टै यही शब्द फुत्किनेछ, ‘कस्तो राम्रो गाउँ ।’

ब्यागबाट क्यामेरा झिकेर म फोटो खिच्न मस्त । 

सँगै आएको टोली तल पुगी सकेको थियो । यता मलाई पस गाउँको एउटा पनि सुन्दरता छुट्छ कि भनेर डराई रहेको थिएँ ।



घाम अस्ताएपछि नाँचगान सुरु हुने भयो । सूर्य दाईको घरमा झोला बिसाएर हामी गाउँ चहार्न लाग्यौं । डेढ सय बढी घर भएको पस गाउँले अझैं पनि आफ्नो मौलिकता बिर्सेको रहेनछ । आधाभन्दा बढी घरहरु पूरानै शैलीका थिए । नयाँ बन्न लागेका घरले पनि उही शैली पच्छ्याउँदै रहेछन् । 



पस गाउँ जानु भएको छ भने तपाईँहरुलाई घुमाउने घरबारे त पक्कै थाहा छ । नजानुभएकाहरुले पनि सामाजिक सञ्जालबाटै थाहा पाउनुभएको हनुपर्छ । अँध्यारो हुनै लाग्दा हामी यो घर पुगेका थियौं । अँध्यारो भएकाले फोटो त्यति राम्रो आएन ।

बेलुकी खाना खाई नाँचगान चल्दै थियो । म भने एकैछिन हेरेर सुती हालें ।

भोलिपल्ट, 

बिहान फेरि फोटो खिच्न घुमाउने घर गएको थिएँ । बुवाआमाले मायाले चिया बनाउनु भयो । मैले मायाले पिएँ ।

हेर्नुस् न, 

मान्छेको दिमाग पनि कहिलेकाही सही ठाउँमा प्रयोगमा नआउने । त्यत्रो बातचित गरुञ्जेलसम्म उहाँहरुसँग न एउटा फोटो खिच्ने सोच आएछ । न उहाँहरुको नाम नै सोधेछु । सम्झनाहरु यस्तै हुन्छन् । मनभरि समेटेर राख्छु भन्दाभन्दै कति बेला फुत्किन्छन् । पत्तै नहुने ! अहिले थकथकी लागि रहेको छ । 

मलाई त पस गाउँका एउटा एउटा चिजले लोभ्याए । पस गाउँबाट फकेएपछि यति भन्न सक्छु, तपाईँलाई पनि पस गाउँले लोभ्याउछ । 

कुनै दिन सम्झनाले डो¥यादै मलाई पनि पस गाउँ पु¥याउला । त्यतिबेला भने म त्यो पूरानो घरको बुढाबुढी भै सकेका बुवाआमाको नाम सोध्न बिर्सने छैन ...

क्होम्रे देवता 






द्वन्द कालमा पस गाउँमा सुरक्षा दिन बसेको आर्मी क्याम्प । जुन अहिले भग्वनावशेष मात्रै बाँकी छ ।



Post a Comment (0)
Previous Post Next Post