दुख साटेर खुसी बाँच्नेहरु ...



यो कथा ६ महिना अघि भेटिएको हो । 

हस्पिटलको आइसियूमा मृत्युसँग पौठेजोरी खेल्दै गरेको यौटा जिन्दगी कुर्दै गर्दा यो कथा भेटिएको थियो । 

...

धनसँग मन साट्नेको कथा होइन यो । यो त दुई छाक रोटीसँग जिन्दगी साट्नेको कथा हो । यिनीहरुलाई दुखले दुख्दैन । सुखको लोभ छैन । 

रोल्पाको कुनै दुर गाउँदेखि दुख साट्न पोखरा आएको यो जोडी भेट्दा कथा बुन्ने खासै उत्साह पनि थिएन । 

...

मलाई उनीहरुको वास्तविक नामसम्म पनि थाहा छैन । यत्ति थाहा छ, उनीहरु दुखी छैनन् । 

मैले भेट्दा विजयपुर छेवैको एक कृषि फर्ममाजागिरे थिए, उनीहरु । नाम सोध्दा काइला र काइली भन्थे । गाउँदेखि काम खोज्दै पोखरा आएका रे !

‘तपाईँको घर कहाँ नि !’

‘रोल्पा’

‘यता कता ?’

‘चाउथे’

‘के काम गर्नुहुन्छ ?’

‘कृषि फर्ममा’

‘नाम के नि !’

‘काइला’

अस्पतालकी नर्ससँग काइलाको संवाद । बिरामी कुर्न बसेका कुरुवाको आँखामा  ‘काइला’ त्यही दिनदेखि परे । रातभरको अनिद्रा, प्रियजनको पर्खाइमा हतासिएका अनुहारमा ‘काइला’ले राहत दिलाएका थिए । 

उनीहरुको मायाको चिनो छोरी जन्मिएकी थिई । छोरी काँखमा च्यापेर काममा फर्किने तयारी गर्दै थिए । छोरीलाई जन्डिस देखिएपछि थप केही दिन राखिएको थियो । 

...

मान्छे तबसम्म बलियो हुन्छ । जबसम्म खल्ति बलियो हुन्छ । खल्ति रित्तिएपछि बल रित्तिन्छ । मन रित्तिन्छ । सम्बन्ध रित्तिन्छ । 

सहरमा त झन्, आफ्नै छाया देख्दा पनि तर्सिनुपर्छ ।

काइलालाई छोरी चाँडो निको पारेर काममा फर्किनु थियो । मेडिकल रिपोर्टअनुसार बिरामी अझैं केही दिन राख्नुपर्ने ।

‘अझैं राख्नुपर्छ पो भन्छ’ उदास मुद्रामा रिपोर्ट काइलीको हातमा थमाउँदै काइलाले भनेका थिए । 

के सोचेर हो काइली फिस्स हाँसेकी थिइन् । 

अस्पताल बसाई जति नमिठो अरु के होला ? सकभर यो बसाई सम्झिन नपरोस् झैं लाग्छ । पट्यार लाग्दो अस्पताल बसाईमा उनीहरु थाहै नपाई नजिकका लाग्न थालेका रहेछन् । 

‘कति पैसा कमाउनु हुन्छ ?’ एक उदास साँझमा मैले सोधेको थिएँ ।

‘मलाई बार हजार देछ, काइलीलाई झारहरु उखल्देको ५ हजार दिन्छ । बस्न पनि देछ’ काइलाले भनेका थिए ।

सुख सोध्नेसँग पो डर लाग्छ । नभए पनि भए जस्तो गर्नुपर्छ । दुख सोध्नेहरु आफ्नै जस्ता लाग्छन् । 

काइलालाई पनि यस्तै लागेको हुँदो हो !

‘मलाई काम खोज्दिनु न दाई’ 

‘काम गरि राछौ त’

‘पैसा अलि कम भयो । अर्को पाए छोड्दिने !’ मैले खोज्दिन्छु भन्न पनि सकिनँ । खोज्दिन्न भनिनँ । डिस्चार्ज हुने बेला काइलाले मोबाइल नम्बर मागे । मैले दिएँ । बिरानो सहरमा कोही आफ्नो भेटे झै लागेको हुदो हो । हस्पिटलबाट फर्केपछि दुइचोटी फोनमा कुरा भएको थियो । तर अहिले उनले फोन नम्बर फेरेछन् । 

थाहा छैन । यो जोडी अहिले पोखरामै छ या छैन !

यत्ति थाहा छ । जहाँ भए पनि दुखी छैन । 


Post a Comment (0)
Previous Post Next Post