अस्पतालबाट देश नियाल्दा ...



विज्ञहरुले कोरोनाको दोस्रो लहर आउने चेतावनी दिन थालि सकेका थिए । पहिलो लहरको बाछिटाले छ्यापी रहेकै थियो । फेरि, दोस्रो लहर किन आउनु परेको होला ? 

दोस्रो लहर आउने अनुमानले मात्रै पनि एक्लै तर्सिन थालेको थिएँ । गाउँघरतिर ‘त्यसको त अनार पनि फर्केर हेर्न नपरोस्’ भन्छन् नि ! 

हो, ठ्याक्कै त्यस्तै ।

कोरोना र यसले छाडेका पराकम्पलाई झेल्नै अप्ठ्यारो भै रहेको बेलामा फेरि, कोरोना फर्कि आउला भनेर हामी कसैले सायदै सोचेका थियौं । 

...

जे नहोस् भन्ने थियो । आखिर, त्यही नै भयो । 

हेर्दाहेर्दै, संक्रमितको संख्या थपिन थाल्यो । अस्पतालका बेडहरु भरिन थाल्यो । यौटा, दुई वटा गर्दै निषेधाज्ञा सुरु भएका विज्ञप्तिहरु आउन थाले । 

जुन चिजदेखि पर भाग्न खोज्छौं । त्यही चिजले पछ्याई रहँदा के हाल होला ? तर, सत्य यही हो वर्तमान स्वीकार्नै पर्छ । 

‘पहिलो लहर झेलेकै हो । यो पनि झेलौंला !’ सोचेर मन दरो पारें ।

...

निषेधाज्ञा सुरु भयो । जिन्दगी फेरि, झ्यालखानामा कैद भयो । टिभीले मृत्युका समाचार देखाउन थाले । अनलाइन, पत्रपत्रिकाले छिनछिनमै अपडेट दिन थालेका थिए । यो पक्रिया अझैं पनि चलि रहेको छ । मृत्युका समाचार लेखेर, देखाएर उनीहरु अझैं थाकेका छैनन् । पहिलो लहरमा त आफैं पनि फिल्डमा खटिएर यस्ता समाचार खोजेको थिएँ । लेखेको थिएँ । जुन कहिल्यै लेख्न नपरोस् झैं लाग्थ्यो । स्थिति हिजो भन्दा आज जटिल बन्दै थियो । 

...

कोठामै बसि रहेको थिएँ । पहिलो लहरमा जस्तै, दोस्रो लहर सुरु भएपछि सावधानी अपनाई रहेको थिएँ । ‘म आउछु’ भनेर आउने भए पो थाहा हुन्थ्यो । सावधानी अपनाउदा अपनाउदै कहाँ चुके । रुँघा, खोँकी र ज्वरोले भेटी हाल्यो । ज्यान यति दुख्थ्यो कि तीन रातसम्म त कोल्टे फेर्न पनि सकिनँ । खाना खायो कत्ति पनि स्वाद नआउने । रोगको सबै लक्षण हेर्दा कोरोनासँग मिल्दाजुल्दा थिए । तैं पनि मैले टेष्ट गराइनँ । घरमै आइसोलेट भएर बसें । 

..

यता म बिरामी हुनु । उता भिनाजु पनि बिरामी । बाहिर कोरोना हाउगुजी । परिवारमा डरै डर !

कोरोनै लागेको भए पनि जित्छु भन्ने विश्वास थियो । खाना नरुचे पनि पाँच दिनपछि ज्यान अलि तंग्रेको थियो । 

धन्न ! म बाँचे ।

..

म ठिक भएँ । भिनाजुलाई ‘बिसको उन्नाइस’ भएन । फोनमा कुराकानी भई रहेको थियो । अस्पतालमा उल्टै संक्रमित होइने डर । गए पनि बेडै नपाइने ! 

‘अस्पताल गै हाल्नुस्,’ भनेर कर गर्न पनि सकि रहेको थिइनँ । सकभर घरेलु उपचारले ठिक होस् भन्ने थियो । 

भिनाजुको अवस्था अझैं उस्तै थियो । ‘मर्नभन्दा बौलाउन निको’ ठानेर अस्पताल जाने निधो भो । दिदी, भिनाजु उपचार खोज्दै ‘लुम्बिनी मेडिकल कलेज’ पाल्पा आए । 

...

अस्पतालको दैलो टेकेपछि जस्तै बिरामीलाई पनि बाँच्छु भन्ने हिम्मत आउछ रे !

भिनाजु त ठिकै हुनुहुन्थ्यो । सुतेको ठाउँबाट उठ्नै नसक्ने अवस्था थिएन । 

अस्पताल पुगे पछि केही उपाय निस्केला भन्ने नै थियो । 

यताबाट तारन्तार फोन गरेर भिनाजुको अवस्था बुँझि रहेको थिएँ । 

पहिलो दिन ‘कोभिड टेष्ट’पछि मात्रै अस्पतालले उपचार गर्ने/नगर्ने भनेर स्वाब मात्रै लिएर फर्काइ दिएछ । 

नमिठो लाग्यो ।

कमसेकम सुरक्षाका उपाय अपनाएर जाँचेको भए पनि हुने । ‘रिपोर्ट आएपछि जाँच्ला’ अवस्था यस्तो छ कि कुर्न सक्दिनँ भन्नु बाञ्छनिय हुन जान्थ्यो । 

..

भोलिपल्ट, 

भिनाजुको अवस्थाबारे फोनबाट अपडेट लिई रहेको थिएँ । दिउँसो तीन बजे रिपोर्ट आएपछि मात्रै उपचार गर्ने/नगर्ने त अस्पतालले अघिल्लो दिनमै सुनाई सकेको थियो । 

कोभिड भए उपचार गर्दिनँ, भनेर अस्पतालले हात उठाई सकेको थियो । रिपोर्ट पोजेटिभ नै आएछ भने पनि केही उपाय गरौंला भन्ने नै थियो । त्यहाँको अस्पतालमा बेड नपाए पनि पोखरा ल्याएर उपचार गराउला भनेर ढुक्क थिएँ । 

..

३ बजे,

रिपोर्ट आयो । लेखिएको रहेछ, पोजेटिभ ।

कागज हातमा थमाउदै अस्पतालले भनेछ, ‘तपाईँको बिरामीलाई हामी उपचार गर्न सक्दैनौं ।’

रिङ्गटा लागे जस्तै भयो । हातखुट्टा लल्याकलुलुक भै सकेका थिए । 

जे आई पर्छ त्यसलाई सामना गर्छु भनेर कहाँ हुने रहेछ र !

परिस्थितिको भारी त गहुँगा हुँदा रहेछन् । अस्पतालले भर्ना नलिए पनि पोखरा ल्याउला भनेर दिदीलाई आश्वासन त दिई हाले । यता पनि अवस्था उही थियो ।

...

पोखरा वर्षिदै थियो ।

कोठाबाट रुँझ्दै निस्किएँ । एउटा न एउटा उपाय कसो ननिस्केला, ए ! 

एक मन भन्थ्यो । अर्को मन डराई रहेथ्यो । दिदीलाई एम्बुलेनस खोजेर पोखरा हिडी हाल्न लगाएँ ।

कोठाबाट सिधै तीर्थ दाईकोमा गएँ । उहाँ आफैं स्वास्थ्यकर्मी भएको हिसाबले उहाँबाट केही उपाय निस्किन सक्थ्यो । 

धन्न, 

नयाँबजार पुग्दा दाईको फार्मेसी खुल्ला रहेछ ।

...

दाईलाइ समस्या बताएँ । उहाँसँग पनि त्यस्तो आइडिया केही रहेछ । फ्याट्ट उपाय निकाल्न सक्नु भएन । यसै पनि आत्तिई रहेको मलाई आशै सकिए झैं लाग्यो । 

एकैछिनपछि दाईले नै ‘अखिल’को हेल्पलाइनले अप्ठेरोमा परेका कोभिडका बिरामीलाई अस्पताल खोज्न सहयोग गर्ने बताउनु भयो । मलाई ठूलै राहत मिले झै भयो । दाईसँग फोन नम्बर लिएर फोन लगाएँ । 

कत्रो आश लिएर फोन लगाएको थिएँ । उठेन । मन खिन्न भयो । 

अरु, चिनेजानेका सम्झनामा आए जति सबैलाई फोन गरेर एउटा बेड मिलाइ दिन गुहारे ।

तर, अँह !

कसैले बेड मिल्यो भनेर कल ब्याक गरेनन् ।

उता दिदीले फोन गरेर सुनाइन् । कोरोना बिरामी भनेको एम्बुलेन्स पनि जान मानेन् !

कता जाउँ र कसो गरुँ झैं भै रहेथ्यो । केशव दाईले आइडिया दिनु भयो अर्जुन गिरीलाई फोन गरें केही उपाय निस्किन सक्छ । अर्जुन दाईलाइ फोन लगाएँ । दाईले एउटा न एउटा उपाय निकाल्ने आश्वासन दिए । बल्ल, श्वास भरिए झैं लाग्यो । 

अर्जुन दाईले डाक्टरको मोबाइल नम्बर दिएर थप कुराकानी गर भन्नु भयो । मैले डाक्टरलाई फोन लगाएँ । डाक्टरले इमर्जेन्सीमा नभए पनि नर्मल वार्डमा राख्न मिल्ने बताए । कोभिड निको भएर बिरामी घर फर्केको खण्डमा त्यो बेडमा राख्न सकिन्थ्यो । पोखरा ल्याउन मात्रै सकें धेरै गर्न सकिन्छ, सोचेर मनमनै खुसी भएँ ।

...

अस्पतालमा बेड त जेनतेन मिल्ने भयो । एम्बुलेन्सलाई जति हारगुहार गरे पनि मान्न तयार भएन । केही जोर नचले पछि पोखराबाटै एम्बुलेन्स लिएर पाल्पा जाने निधो गरें । 

धन्न !

एम्बुलेन्स जान तयार भयो । 

..

एम्बुलेन्स जति जति हुँइकिन्थ्यो । मेरो मन अझैं बेतोडले हुँइकिन्थ्यो । फोनमा दिदी आत्तिइ रहेकी थिइन् । जति जति हुँइकिए पनि स्टेरिङ मेरो हातमा भै दिए अलि छिटो पुगिन्थ्यो कि झैं भै रहेथ्यो । एम्बुलेन्स ‘कुविन्डे’ पुग्नै आँटेको थियो । पोखरा लैजाने शर्तमा अस्पताल अक्सिजन दिन तयार भएछ । थोरै भए पनि राहत महसुस भयो । मुटुको गति एम्बुलेन्सको भन्दा केही कम भयो । 

‘अक्सिजन दिएको भए केही हुन्न’ दिदीलाई ढुक्क पारें ।

..

राम्दी पुग्दा झमक्कै साँझ परि सकेको थियो ।

‘दिदीले फोन उठाइन किन हो ?’ फोन बा’को थियो । मनमा चिसो पस्यो । 

बा’लाई मैले ट्राई गर्छु भनें । फोन राखें ।

तीन चोटीसम्म पूरै रिङ बज्दा पनि फोन उठेन । फेरि, मुटुको गतिले एम्बुलेन्सलाई उछिन्यो । पाँच, छ चोटीसम्म पूरै रिङ जाँदा पनि फोन उठ्दै उठेन .. । बरु, म्यासेजको घण्टी बज्यो । लेखिएको थियो, ‘सरी, बेड मिलेन ।’ म्यासेज डाक्टरको थियो । पोखरा पु¥याउन मात्रै पाए ! हेरौंला भन्ने नै थियो । ठ्याक्कै त्यति नै बेला रेडियाले सत्ता समीकरणको जोडघटाउ नमिलको समाचार सुनायो । 

लुम्बिनी मेडिकल कलेज गेटबाट एम्बुलेन्स भित्र छिर्ने बित्तिकै हतार हतार इमर्जेन्सी वार्डतिर दौडिएँ । भिनाजु बेडमा अचेत अवस्थामा । मलाई देख्ने बित्तिकै दिदी पिलपिल । मष्तिस्क पूरै खालि थियो । यस्तो बेलामा के गर्नुपर्छ ? मैले भेउ पाउन सकिनँ । 

...

‘तपाईँ, एकछिन यता आउनुस् त !’ डाक्टरको आवाज थियो । म उनले इशारा गरेतिरै लुरुलुरु ।

‘तपाईँको बिरामीलाई तुरुन्त लगि हाल्नुस् । यहाँ राख्न मिल्दैन । चाँडो गरि हाल्नुस्’ डाक्टर जस्तो मान्छेले यति रुखो बोलि बोल्ला भनेर मैले कल्पना पनि गरेको थिइनँ । 

‘उहाँको अवस्था कस्तो छ अहिल ?’ यति मात्रै सोध्न सकें ।

‘धड्कन लगभग चल्न छोडी सकेको छ । जे पनि हुन सक्छ । तपाईँहरुले लगि हाल्नुस् ।’

‘हुन्छ, म लैजाने कोसिस गर्छु ।’

..

लैजान त लैजाने । तर, कहाँ ? मष्तिस्क अन्यौलमा थियो ।  

‘भाई जे गर्ने हो छिटो गर्नुस्’ यतिञ्जेल चुप बसेको एम्बुलेन्स चालक पनि हतारिए । उनलाई एकैछिन पर्खन अनुरोध गरें । 

यता, मेरो मुटुको गति बढ्दै थियो । भिनाजुको घटी रहेथ्यो । 

‘तपाईँहरुको तयारि पूरा भएन ?’ डाक्टर फेरि फतफताउन आई पुग्यो ।

..

भिनाजुको मुटुको गति रोकियो । अलि अलि भएको आश पनि सकियो ।

रातको ११ बजि सकेको थियो । एम्बुलेन्स चालकलाई बिदा दिई सकेको थिएँ । भिनाजुलाई होइन । आफैंलाई सम्हाल्न मुश्किल भै रहेको थियो । दिदीलाई सम्हाल्नु थियो । सम्हालिनु थियो । मुटु गह्रुंगो भएर आयो । फोनको घण्टी तारन्तार बजि रहेका थिए ।

त्यो रात शव अस्पतालमै राख्न पायौं । उज्यालो हुनेबित्तिकै लैजाने शर्तमा ।

आफन्तलाई निको बनाएर घर लैजाने आश बोकेर बसेका कुरुवाहरु हामीलाई हेर्थे । धेरै त उनीहरुले भय बोकेका थिए । तिनका अनुहारमा कताकता सहानुभूति पनि देखिन्थ्यो । तर, उनीहरु देखाउन्नथे । यिनीहरु निस्किए हामीले बेड पाउथ्यौं भन्ने पनि हुँदो हो ।

‘तपाईँको बिरामीलाई कति बेला लैजानु हुन्छ ?’ 

१०/१५ मिनेटको फरकमा डाक्टर आउथे । सक्दो बेड खालि गराउन खोज्थे । बिरामीका आफन्तलाई चेतावनी दिन्थे । जान्थे । उनीहरु उज्यालो हुने बित्तिकै लैजाने बाँचा गर्थे । ‘तपाईँहरुलाई पहिलै भनेको हो । कोभिडको बिरामी राख्दैनौं भनेर’ डाक्टर उस्तै रुँखो बोलि बोल्थ्यो । बिरामीका आफन्तले थप अनुनय गरि सकेपछि डाक्टर अर्को बेड खालि गराउन लाग्थ्यो । मृत्यु शय्यामा छटपटाई रहेका बिरामीका आफन्त बिरामीको अवस्था भन्दा पनि कतिबेला डाक्टर कतिबेला आउछ र बिरामी लगि हाल्नुस् भन्ने हो सोचेर त्रसित भए झैं भान हुन्थ्यो ।

बिहान भई सकेको थिएन र पो । उज्यालो हुने बित्तिकै मैले पनि भिनाजुको शव उठाउनु पर्ने थियो ...

(जेठ ३ गते बिएल नेपालीमा प्रकाशित)

https://breaknlinks.com/nepali/news/35150761?fbclid=IwAR1SYW3EaiSedGpR1MO6_UNtLoeLF5FHw66xk_WN_IgANJ2cSw7GgcGH_iM

Post a Comment (0)
Previous Post Next Post