पद गुमाएका मन्त्रीले ११ दिनमै फेरि पाए, जनताले नि !

 



गण्डकी प्रदेशमा आज नयाँ मन्त्री मण्डल बिस्तार भएछ । गजबको बात त यो छ कि, पद गुमाएको ११ दिन भित्रै मन्त्री ज्युहरुले पुन पदबहाली पाउनु भएछ ।

चर्चित `खिमविक्रम काण्ड´पछि पुन गठन भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको मन्त्रीमण्डल बिस्तार हुँदै गर्दा प्रदेशमा कोरोना संक्रमणबाट एकै दिन ३० जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको थियो । जुन अहिलेसम्मकै ज्यान गुमाउने ठूलो संख्या हो । संक्रमितको संख्या त अब गनेर नसकिने भै हाल्यो, दैनिक ६/७ सय थपिइ रहेका छन् ।

बिरामी अस्पतालमा बेड नपाएर छटपटाइ रहेछन् । यता मन्त्रालय थप्ने निर्णय हुँदै रहेछ । यो बेलामा मन्त्रालय थप्नुको साटो अस्पतालमा बेड थपे यै जनताले यै सरकारको जयजयकार गर्दा हुन् । अक्सिजनको व्यवस्था गर्दिए, ५ वर्ष मात्रै हो र सयौं वर्ष यै सरकार चाहिन्छ भन्दा हुन् ।

कास्, उपचार नपाएर अकालमै मृत्युु वरण गर्न पुगेकाहरु पनि ११ दिनमै फर्किने भए । तपाईंलाई बधाई दिएर भन्दा हुन्, `धन्यवाद सरकार। पुन जीवन दिनु भएकोमा ।´
Post a Comment (0)
Previous Post Next Post