रिपोर्टिङमा तीन वर्षः जहाँ थिएँ त्यही भेटिएँ



अर्थमन्त्री बिष्णु पौडेलले बजेट सुनाएर भ्याएकै थिएनन् । एक जना पत्रकार मित्रले फेसबुकमा पोष्ट्याए, ‘बजेटले यसपालि राम्रोसँग पत्रकारलाई समेटेछ । सात लाखको दुर्घटना बिमा, उपचार पनि निशुल्क ।’

एकैछिनमा अर्का पत्रकारको पनि स्टाटस आई हाल्यो, ‘धन्यवाद, सरकार । पत्रकारको लागि बजेट छुट्याउनु भएकोमा ।’ अर्थमन्त्रीले सिँगो बजेट सुनाउन भ्याउँदा नभ्याउँदै फेसबुकमा पत्रकारका स्टाटसको बाढी नै आयो । कतिले नेगेटिभ रुपमा पनि लिए । 

कतिपय पत्रकारले सरकारले गर्नुको सट्टा आफू आबद्ध मिडिया हाउसले यसको व्यवस्था गर्नुपर्ने मत पनि राखे । बजेट प्रस्तुत भएर सकिँदासम्म पत्रकार दुई खेमामा बाँडिई सकेका थिए । एउटा पक्ष, अर्को प्रतिपक्ष । मलाई पनि पहिलो पक्षको तर्कमा अलि चित्त परेन । 

हाम्रो सुरक्षाको ग्यारेन्टी त हामी आबद्ध सञ्चारगृहले पो गर्नुपर्ने हो । जबकि, सञ्चारमाध्यमले तलब नदिएर आन्दोलनमा उत्रेको रिपोर्टरबारे सामाजिक सञ्जालमै सही कसैले एक शब्द खर्चेको भेटिन्न । खास, कुरो त खुरुखुरु काम गर्ने संस्थाले तलब दिने हो । तलब पाए त उसले आफैं उपचार गरि हाल्छ नि ! 

महामारीको निहुँ पारेर श्रमजिवीलाई बिचल्लि पार्ने साहुजीलाई पो तह लगाउने हो । एउटा रिपोर्टरको जिन्दगी पनि क्या गजबको छ है ! त्यही सरकारले राम्रो काम गरेन भनेर विरोध पनि गर्नुपर्ने । पत्रकारलाई उद्धार गर्ने भो भनेपछि समर्थन पनि जनाउनुपर्ने । 

खैर, ठिकै छ । 

जसले गरे पनि पत्रकारको उद्दार हुने भो । यही ठूलो कुरो हो । मैले मनमनै समर्थन र विरोध गरेँ ।

...

उसो त म अहिले पत्रकारितामा सक्रिय छैन । दैनिक रिपोर्टिङको दौडधुपबाट आजित भएर पत्रकारिताबाटै मैले ब्रेक लिएको थिएँ । त्यसमाथि आफू आबद्ध संस्थाले दिने दुख त छँदै छ । ६ महिना भइसक्यो राजीनामा बुझाएर बसेको छु । 

काम छोडेँ । न्युज ब्रेक गर्नुपर्ने थिएन । अर्को रिपोर्टर साथीले पहिले लेख्यो कि भन्ने चिन्ता पनि रहेन । जागिर छञ्जेल खाँदाखाँदैको गाँस पनि छोडेर हिडुँजस्तो हुन्थ्यो । काम छोडेपछि त्यसको टन्टै रहेन । भर्खर पहिलो कोरोनाकाल सकिएको थियो । सधँै डुलि हिँड्ने बानी भएपछि कोठामै खुम्चिएर बस्न पनि गाह्रो ।

दिनभरि केही नगरि कसरी बस्ने ? 

काम नछोडेको भए, सूचना खोजि रहेको हुन्थेँ । सूचनादातासँग भेट हुन्थ्योे । फोनकलमा व्यस्त भइरहन्थे । कामै नभए पनि कमसेकम साथीभाइ भेट हुन्थे । चियागफ, ख्याल ठट्टा गरेरै दिन बितेको पत्तै हुन्थेन । काम छोडेर बसेको हप्तादिनसम्म त एक्लै छट्पटाएँ । 

...

हप्तादिनसम्म कामको ह्याङ ओभरले छोडेको थिएन । अहिले पनि छोडेको त कहाँ छ र ! यसै छट्पटिएँ । काम छोडेको महिना दिनपछि अलिअलि भएको पैसा पनि सकिँदै थियो । 

अब के गर्ने ? 

सोचेर छट्पटाउने अवस्था आएको थियो । हुन त पत्रकारितामा मेरो कुनै दिलचस्पि थिएन । जिन्दगीमा कहिल्यै पत्रकारको ट्याग बोकेर हिँडुला भनेर एक रति सोचेको थिइनँ । लेख्ने रहर भने थियो । समाचार होइन, साहित्य ।

पत्रकारितामा आउनुको एउटै लोभ थियो, लेख्न पाइन्छ । लेखेको पत्रिकामा छापिन्छ । आफूले लेखेको लेख धेरै ठाउँमा पुग्छ । यो भन्दा धेरै अपेक्षा केही पनि राखेको थिइनँ । जुनबेला मैले पत्रकारिता सुरु गरेको थिएँ । सूचना खोज्दै जाँदा, समस्या खोतल्दै जाँदा बल्ल, पो पत्रकारिताको मर्म बुझियो । पछि, साहित्य लेख्ने रहर समाचार लेखनले खाइदियो । साहित्य भन्दा पनि चिन्ता यही हुन्थ्यो, आज कुन समाचार लेख्ने होला ? महिना सकिने बेलामा फेरि, अर्को चिन्ता यो महिना तलब आउने हो कि होइन ?

...

मेरो एक जना साथी छ । पत्रकारिताका सुरुआति दिनमा ऊ र म सँगसँगै थियौँ । बर्खे झरिमा निथ्रुक्क रुझ्दै, टन्टलापुर घाममा पसिना पुछ्दै पोखराका गल्लीगल्ली हामीले नापेका छौँ । धेरै त गाडी चढ्ने पैसा पनि हुन्थेन । पैदलै हिँड्थ्यौं । तैपनि हामीलाई पत्रकारिता मन पर्न थालिसकेको थियो ।

अहिले पनि दुख साट्छौँ । ऊ मेरो नजिकको पात्र हो । हामी दुवैले डेलि रिपोर्टिङ नगर्ने किरिया खाएका थियौं । डेलि रिर्पोटिङको प्रेसरबाट ऊ पनि आजित थियो । लेखनमा दुवैको रुचि भए पनि पत्रकारितामा आउने योजना उसको पनि थिएन । बरु, अरु कुनै काम गर्ने पत्रकारितामा ब्याक नहुने संकल्प ग¥यौं । अनि सक्रिय पत्रकारिता छाड्यौं । 

राजीनामा बुझाएर ऊ आफ्नो घर फक्र्यो । म पोखरामै थिएँ । पोखरा छोड्छु भनेर योजना बनाए पनि पारिवारिक समस्याले रोकिएको थिएँ । 

एउटा न एउटा पेट पाल्ने बाटो त गर्नै प¥यो । जानेको काम त्यही एउटा हो । अर्थोकै गर्ने मूर्त योजना केही थिएन । आउने पनि होइन । जेनतेन पोखरामा धानिई रहेको थिएँ । ऊ त अहिले पत्रकारितामा सक्रिय भइसक्यो । म अझै फर्किन सकेको छ्रैन । बरु, डेलि रिपोर्टिङ गर्नुपर्ने प्रेसर पनि नहुने । आफ्नो लेख्ने रहर पनि पूरा हुने सोचेर ब्लग चलाउन थालेँ । त्यो पनि अहिले बेवारिसे छ । 

...

जागिर छोड्ने बेलामा पत्रकारितामै ब्याक हुन्न भन्ने सोचेको थिएँ । हुन पनि दैनिक रिपोर्टिङमा दौडी हिँड्न मलाई पटक्कै मन परेको थिएन । काठमाडौँबाट कुनै नेता पोखरा आएको थाहा लागे उसकै पछि कुद्नुपर्ने । कुनै संस्थाले पत्रकार सम्मेलनको लागि डाँके पनि दौडी हाल्नुपर्ने ।  

‘लेख्न त लेख्ने । अलि गहकिलो गरि लेख्न पाए पो मज्जा, समाजै खोक्रो पार्ने बेथितिबारे खुलासा गर्न पाए पो पत्रकारिता,’ पत्रकारितामै सक्रिय रही रहँदा पनि पनि मनमनै  खड्किन्थ्यो । पाठकलाई सूचना मात्रै दिएर के पत्रकारिता भयो ? त्यो पनि कुनै अमुक पार्टीको मुखपत्र जस्तै गरि सूचना पस्किँदा मन पटक्कै खुसी थिएन । 

यो तीन वर्षे पत्रकारितामा कस्ता स्टोरी गरेँ ? अकाईभमा खोजेँ । गरेका स्टोरीमध्ये गर्व गर्न लायक एउटा पनि स्टोरी भेटिएनन् । जुन मलाई गर्न मन थियो । जति गरिए ती प्रेसरले भरिएजस्ता थिए । अर्थात् ती कसैको फगत प्रचारमात्रै हुन् । खोज स्टोरी गर्नुपर्छ भनेर मिडिया हाउसले प्रेरित गरेको मलाई बिरलै याद छ । 

उसै पनि राजधानी केन्द्रित पत्रकारिताले एउटा बिट समाउन पाउँदैन मोफसलले । चारैतिर भ्याउनुपर्ने । आफ्ना पाठकलाई एउटा पनि सूचना छुटाउन नपरोसजस्तै हुने । यसैले पनि मोफसल पत्रकारिता अलि प्रेसरमा छ । अर्को केन्द्रले कहिल्यै मोफसलको समाचारलाई राम्रो स्पेस नदिने । 

फर्केर हेर्दा 

पत्रकारिताको तीन वर्षे अवधिमा नेपालका नाम चलेकै टेलिभिजन र अनलाइनमा काम गरेँ । तीन वर्षपछि फर्केर हेर्दा पनि म उही ठाउँमा भेटिएँ । 

तीन वर्षअघि काम खोज्दै थिएँ । तीन वर्षपछि अहिले पनि मेरो हातमा काम छैन । पोखरामै थिएँ, पोखरामै छु । तर, यहाँ आफूलाई कहिल्यै सुरक्षित भेटिनँ । कतिबेला काम.फुत्किने हो थाहा छैन । तर, खबरदारी भने गरि रहनुपर्ने । काम छ सधैँ डरै डर अनि प्रेसर बोकेर हिँड्नुपर्ने । यो हो, रिपोर्टरको जिन्दगी ।

खबरदारी त गरौंला रे ! बिचल्लीमा पनि परौँला । कुन बेला कुन बद्मासको झोकमा पर्ने हो ? त्यो पनि सहौँला । मिडिया हाउसको आदेश अनुसार जो चल्नु छ । मिडिया हाउसको बद्मासीले कैयौं सञ्चारकर्मी बिचल्लिमा छन् । त्यसमध्यको एक म पनि हुँ, यो लेखिरहन मलाई अहिले पनि डर लागि रहेछ । कुरा एउटा मामुली रिपोर्टरको मात्र होइन । ऊ सँग जोडिएका परिवारको पनि हो । त्यही मिडिया हाउसको लागि मरि मेटेर काम गर्ने रिपोर्टरलाई बिचल्लीमा पार्ने मिडियालाई फेरि समाचार भने अरु, बिचल्लिामा परेकाकै चाहिएको छ । 

र, पनि पत्रकारिता गर्नु त छ नै ! 

(शिलापत्रमा प्रकाशित)

https://shilapatra.com/detail/59602


Post a Comment (0)
Previous Post Next Post