लाहुरेसँग एक साँझ



‘ओहो, कति शित्तल हावा चलेको हो । आफ्नो ठाउँमा यस्तो आनन्द छ । उत्ता फेन चलाएर बस्नपर्छ ।’ 

‘हो त नि, यस्तो शितल हावा त कही गए नि पाउदैन ले!’ 

..

तीन महिना अघि लमजुङको पस गाउँमा थिएँ । गाउँमा चिसो हावाको बयान अनौठो लाग्छ । चिसो हावा त गाउँमा बाह्रैमास चल्छ । यसको कुनै मोल हुँदैन । सहरमा पो चिसो हावाको लागि पैसा तिर्नुपर्छ । 

यसै पनि सहरमा मन बुझाउन गाह्रै हुन्छ । त्यसैले पस गाउँमा थिएँ । गुरुङ संस्कृतिको धनी गाउँ पस गाउँमा पहिलो चोटी पुगेको थिएँ । पस गाउँमा पुग्नुको अर्को पनि एउटै काम थियो । पस गाउँ महोत्सव अवलोकन । 

बिरानो ठाउँमा नौलो मान्छेको संवादले पहिलो चोटी तानिएँ । बाँफिएको सहरभन्दा पर्तिर चिसो हावाको स्वाद, त्यसमाथि पस गाउँको सुन्दरता । त्यसै त्यसै रोमाञ्चित भई रहेको थिएँ । 

..

चिनापर्चि भयो । मैले आफ्नो परिचय दिएँ । उनीहरुले पनि । गमबहदादुर र मजमबहादुर गुरुङ रहेछ उनीहरुको नाम । दुवै जना भू.पु. ब्रिटिश आर्मी रहेछन् । वाउ !

यसै पनि उत्साही थिएँ । लाहुरे शब्द सुनि सकेपछि ओभर एक्साइटेड भएँ । लाहुरेका गफ सुन्न मन पराउछु । हुन मन पराइनँ । 

खैर, लाहुरे गफ सुन्ने सौभाग्य जो मिलेको थियो ।

..

दुवै जना बालसखा । लाहुरे पनि सँगै भएका रहेछन् । गमबहादुर ८ वर्षपछि आफ्नो जन्मथलो फर्किएका रहेछन् । मजमबहादुर १३ वर्षपछि । 

१३ वर्षपछि पैतालाले आफ्नो माटो टेक्दा कस्तो अनुभव भयो ? मजबहादुरलाई सोधें ?

‘कस्तो लाग्नु, आब आफू जन्मे, हुर्केर बढेको ठाउँ । पाहिला भन्दा धेरै विकास भएछ। त्यो डाँडामा हामी रोपाईँ गर्न जान्थ्यो । अहिले झारै झार पलाएर जान पनि डर लाग्ने भएछ ।’

गमबहादुरको पनि प्रतिक्रिया उही थियो । 

झमक्क अँध्यारोमा पनि उनीहरुको अनुहार धपक्क बलेको देखिन्थ्यो । गुँड छोडेर आहारा खोज्न निस्केको उनीहरु वर्षौ पछि जो गुँडमा फर्किएका थिए । 

..

बढी त बाध्यताले परदेखिएका थिए उनीहरु । थोरै रहर पनि थियो । लाहुरे घर फर्किदा काँधमा टेपरिकर्ड बोकेर गीत घन्काउदै गाउँ छिर्ने उकालो उक्लि रहँदा लाहुरेको एक झल्को हेर्नकै लागि बेशिँसम्म पनि झर्थे रे ! उनीहरु ।

‘अहिले त लाहुरेको के इजत छ र, बाबु! पहिला त लाहुरे आयो भनेपछि गावै रमाइलो । तल बेशिँबाटै रमाइलो हुने नि! हामी पनि हेर्न जान्थ्यो,’ मजबहादुरले सुनाए ।

गल्लाको पछि लागेर छाती नाप्न जानु अघि दुवैको उमेर त्यस्तै १६, १७ को थियो रे ! ठ्याक्कै उमेर त याद छैन उनीहरुलाई । तर, लाहुरे हुँदा जति उमेर भए पनि १६ वर्षै लेखाउनुपथ्र्यो रे ! नत्र त लाहुरे देखाउनै नपाउने ।

लाहुरे भएपछि दुवै जना छुट्टाछुट्टै पल्टनमा परेका रहेछन् ।

दुवै जना ०४३ माा रिटायर्ड भए । गमबहादुर रिसर्भिस ब्रुनाइमा १० वर्ष सर्भिस गरे । ०५४ मा ब्रुनाइ जिआरयु (गोरखा जिआरयु)युनिटबाट बिदा भए ।

त्यसपछि, ३ वर्ष पोखरामै बसे । लमजुङ समाजको उपाध्यक्षको कार्यबहाक सम्हालेर । त्यसपछि इन्डोनेसिया गए । ३ वर्ष सेक्युरिटी ट्रेनर भएर काम गरेका रहेछन् । 

‘ट्रेनिङ गराउन मुश्किल । मैले अलि अलि जानको ब्रिटिश आर्मीमा इंग्लिस थियो । तर, इन्डोनेशियाको भाषामा ट्रेनिङ गराउन पर्ने,’ उनको अनुभव, ‘वर्षमा ३ देखि ४ वर्टा ब्याच भर्ती गराएर ट्रेनिङ गराउन पर्ने । स्यालरी कम थियो । ११ सय युएस डलर थियो । एशियन देशको लागि ठूलो १ लाख दश हजार जति नेपाली हुने ।’

सन् २००६ देखि लण्डनमा बस्छन् गमबहादुर । त्यहाँ पनि उनी सेक्युरिटीको नै काम गरें । त्यहाँ बस्दा ६० वर्षदेखि माथि उमेरको मान्छेलाई बृद्ध भत्ता दिने नियमम छ । अहिले नियम चेञ्ज भएको ०६७ पूरा भएर ०६८ मा लाग्नुपर्छ । बृद्ध भत्ता खानेहरु १ महिना भन्दा धेरै बाहिर बस्न पाउदैनन् । जुनै देश गए पनि महिनादिन भित्र इन हुन पर्छ । 

३ छोरा बुवा गमबहादुरका तीन छोरा ब्रिटिश आर्मीमा छन् । जेठो छोरा त रिटायर्ड हुने बेला भयो रे ! ३ महिना अघि भेट हुँदा १० महिना पछि पेन्सन आउन भन्दै थिए । 

मजमबहादुर गुरुङ ब्रिटिश सेनाको सेकेण्ड लेफ्टेन पनि भएका रहेछन् । १९९३ मा रिटायर्ड भएर नेपाल आए । २ वर्षपछि आँगोला साउथ अफ्रिका सेक्युरिटी ब्रिटिश आर्मी गए । ९ वर्ष सेक्युरिटी कम्पनीमा काम गरेर नेपालमै बस्ने मनशाय बोकेर स्वदेश फिरे । 

नेपाल फर्केर पोखरा बस्न थाले । ३ वर्ष हिमाली समाजको उपाध्यक्ष काम गरे । ३ वर्ष काम गर्दागर्दै फेरि अमेरिकाको डिभी पर्यो । उनी उतै लागे । साढे १३ वर्ष देखि अमेरिकामै छन् । अमेरिकाबाट आएको २ महिना भएको रहेछ । ‘सबै इष्टमित्र यतै छ बाबु के गर्ने उता बसेर पनि । पहिला दुख थियो । विदेश जानुप¥यो । धेरै बसें अब नेपालमै बस्छु,’ मजमबहादुरको दुख ।

मजमबहादुर पनि ३ वटा छोराका बाबु हुन् । २ वटा छोरा जेठा र माइला हङकङमा रहेछन् । सपरिवार । कान्छो छोरासहित उनी अमेरिका बस्दै आएका रहेछन् । डिभी पर्दा २१ वर्ष भन्दा मुनिको बच्चा लैजान पाउने व्यवस्था छ । उमेर हदबन्दीले जेठा र माइला छोरा अमेरिका जान नपाएका रहेछन् । 

संयोग, दुवै जना लाहुरे भए पनि युद्धमै होमिनु परेको रहेनछ । ब्रिटिश र इन्डोनेशिया १९६४/६५ मा युद्ध भएको थियो । उनीहरु भर्ती हुनुभन्दा ३ वर्ष अघि लडाईँ सकियो । १९९३ मा रिटायर्ड भए । अहिले त लडाईँमा जानुपर्छ । २४ वर्ष काम गर्दा एकचोटी पनि लडाईँ जानु परेन रे !

अन्तिममा मैले सोधें, अब नेपालमै बस्नुहुन्छ कि उतै फर्किने ?

मजमबहादुर : अब भने नेपालमा नै बस्ने विचार गरेको छु । विदेशमा धेरै बस्यो ।

गमबहादुर : अब ५, ६ वर्ष जति विदेश बसेर सबै मिलाएर म पनि यतै आएर बस्छु । 


Post a Comment (0)
Previous Post Next Post