सारंगीको र्‍याई,.. र्‍याई ,..हिजोआज बिरलै !



गर्मीको हपहपि । खपि नसक्नु । अझ, सडक तातेर ज्यानै बाँफिएको थियो । मध्य साउनतिर हुनुपर्छ । दिउँसोतिर न्युरोडमा बरालिदै थिएँ । हुन त मेरो दैनिकी नै हो यो । पोखराका गल्लि पैतालाले नापि रहेको हुन्छु । 

त्यो दिन रामजी गन्धर्व भेटिए । काँधमा सारंगी भिरेका । अग्लो कदका थिए, रामजी । कास्कीकै पुछार तल्लो गगनगौडाबाट आएको हूँ भन्थे । सारंगी अघि पारेर, पछाडि झोला पनि झिरेका थिए । मैलो परेको सेतो सर्ट । नीलो पाइन्ट । गोडामा गोल्डस्टार जुत्ता लगाएका थिए । 

एउटा हातमा चुरोट सल्काएका थिए । अर्को हातले सारंगी रेट्ने ‘धनु’ समाएका । व्यस्त बजारका गल्लि गल्लिमा खबर पु¥याउदै हिडेका रामजी दाइको सारंगी ¥याई ¥याईले तान्यो । गाउँ छोडेको निकै पछि सारंगीको धुन जो सुनेको थिएँ । 

‘मैले देको माया कम थियो कि

कोही कसैले थपेर दियो कि 

चौतारीको वर ...’

रामजी दाइ न्युरोडका व्यापारीका दैलो अघि सारंगी रेट्दै गीत घन्काउथे । व्यापारीहरु १०, २० का दुई, तीनटा नोट ल्याएर दिन्थे । सारंगी रेट्दै एक हातले ‘जदौ’ गर्न पनि भ्याएकै थिए उनले । रमाइलै लागि रहेको थियो । एकै छिन उनलाई पच्छ्याउने अनुमति मागे । उनले नाईँ नास्ति गरेनन् । म उनको पछि लागे । 

लगभग १०, १२ बढी व्यापारीको दैलोमा पुगेर गीत गाई सकेपछि मैले उनलाई अर्को दुख थपिदिएँ । उनको समय केही छिनका लागि मागें । यसमा पनि उनले मलाई दुखी बनाउन चाहेनन् । ‘हुन्छ’ भने ।

..

आज उनी गीत गाउन पोखरा थिए । भोली यहाँ हुने छैनन् । अर्कै ठाउँ पुग्ने छन् । तर, गीत सुनाउन छाड्ने छैनन् । सारंगी रेट्न छाड्ने छैनन् । हो, पुख्र्यौली परम्परा उनले सास रहुञ्जेल तोड्ने छैनन् । 

रामजीका पुर्खा लामाचौरका रहेछन् । बा’ले पुख्र्यौली थलो छोडेर गगनगौडा पुगे । रामजी उतै जन्मिए । हुर्किए । बा दिनभर सारंगी भिरेर गीत गाई गाउँ, बस्ति डुल्थे । साँझ परेपछि झोलाभरि अन्नपात बोकी ल्याउथे । 

दिनभर रेटेर खाँबोमा झुण्ड्याई राखेको सारंगी रामजी बा’को आँखा छलेर के बजाउन मात्रै खोज्थे, बा भन्थे रे ! ‘तिमीहरु केटाकेटी नै छौं । यो गरि खाने भाँडो बिगारेर के खाने ?’ बा ले भनेपछि मान्नै प¥यो । थपक्कै पहिले जस्तो गरि राखेको थियो सारंगी त्यस्तै गरि खाँबोमा झुण्ड्याई दिन्थे । तैं पनि रामजीलाई खट्कीइ रहन्थ्यो, ‘मैले पनि सारंगी बजाउन पाएँ !’

..

बा’को उमेर ओरालो झर्दै आयो । रामजीका उकालो चढ्दै । लुकीचोरी बा’को सारंगी रेटेर रामजी सारंगीमा पोख्त भई सकेका थिए । 

‘यसरी यसरी गरेर सिकियो बाबु, सारंगी नै नभए केटाकेटीलाई के खुवाउला भन्ने पीर हुने भयो बा’लाई पनि’

‘अहिले तपाईंका छोराहरुलाई सारंगी बजाउन दिनुहुन्छ कि हुन्न ?’

‘किन नदिने ? ला बाबु सिक्न पर्छ बाबु बाजेको बिँडो थाम्न पर्छ भन्छु । अहिले ६ तारेको जमानमा काँ, ४ तारे बजाएर हुन्छ भन्छन् ।’

‘छोराहरुलाई आउदैन सारंगी बजाउन ?’

‘सिक्नै खोज्दैनन् । सिकाउन त खोज्छु ।’

छोराहरुले परम्परा बिर्सिन थालेको देखेर खुबै पिरोलिन्छन् । यस्तै अवस्था हो भने अबको केही समयमै परम्परा लोप हुनेछ, उनले बुझेका छन् । अझैं पनि । नयाँ पुस्ताले सिक्दिए हुन्थ्यो भन्ने लाग्छ उनलाई ।

...

झलकमान गन्धर्व, 

तपाईले सुनि रहेकै नाम हो । उनै झलकमान जसले नेपाली जन जनको जिब्रोमा झुण्डिएको ‘आमैले सोध्लिन् नि...’ बोलको गीत गाए । हो, उनै झलकमान गन्धर्व रामजीका छिमेकी हजुरबुवा रहेछन् । रामजी आफैं पनि कुनै समय काठमाडौंमा नामि कलाकारहरुसँगै काम गर्थे रे, दोहोरी साँझमा । बिचमा नराम्रोसँग थलिए । अनि, घर फर्किए । केही गीति एल्बममा काम गरे पनि आशातित सफलता पाउन सकेनन् । तर, उनले परम्परा बिर्सेका छैनन् । 

अहिले गीतहरु दिनहुँ जसो निस्किन्छन् । हरेक गीतमा लोकबाजा समेटिएकै हुन्छ । तर, कही नमिलेको जस्तो । सारंगी त बजायो नयाँ पुस्ताले । तर, अनभिज्ञताले सारंगीको अस्तित्व नै मासिने पीर छ रामजीलाइ । 

अहिले पो छिनमै खबर दिने मोबाइल इन्टरनेट छ ।  पहिले पहिले रामजी दाइहरु खबर लिएर पुग्थे । केही राम्रो, केही नराम्रो । तीतो, मिठो जे छ गाउँमा खबर पु¥याउथे परदेशिको । 

‘अहिले त गीतै गाउन भनेर गए पनि वास्ता हुन्न । बरु, काम गरेर खानु नि यसरी गाउँदै हिड्नु भन्दा भनेर पनि भन्छन् कसैले ।’ उनका दुख कति थिए ? अनुहार हेरेर मैले भेउ पाइन् । मासिने लागेको परम्परा जोगाउदा पनि खोट पाउदा यस्तो बचन पाउदा रामजीलाई कति दुखेको होला । 

पहिलो पटक बिएल नेपाली सेवामा प्रकाशित 
Post a Comment (0)
Previous Post Next Post